माछापुच्छ्रेका ज्येष्ठ नागरिकले बनाए आफ्नो टोल प्लाष्टिकमुक्त

हिमाली आवाज । कास्कीमा ज्येष्ठ नागरिकहरुनै सरसफाई अभियानमा जुटेका छन् । माछापुच्छ्रे गाउँपालिका वडा नं ३ मा स्थापित पिपलबोट ज्येष्ठ नागरिक समितिको सक्रियतामा टोललाई प्लाष्टिक र फोहरमुक्त बनाउने अभियान शुरु भएको छ ।

केही समयअघि स्थापित समितिले अन्नपूर्ण प्राङ्गारिक महिला कृषि सहकारीसँगको सहकार्यमा साविक घाचोकको वडा नं १ र २ लाई प्लाष्टिक मुक्त बनाउँदै वडालाई सफा,स्वच्छ र हराभरा बनाउने योजना अघि सारेको हो ।

शनिबार ५० हाराहारीमा सहभागिले भलाबोट, पाटन,खरिबोट लगायतका क्षेत्रमा बृहत सरसफाई गरी चार ट्याक्टर फोहोर तथा प्लाष्टिक उपयुक्त स्थानमा व्यवस्थापन गरेको पिपलबोट ज्येष्ठ नागरिक समितिका सचिव भुवनेश्वर पोखरेलले जानकारी दिए ।

समूहले महिनामा दुई दिन बृहत सफाइ कार्यक्रम गर्ने उनले बताए ।आज उनीहरुले टोलमा रहेको सबै प्लाष्टिकलार्ई व्यवस्थापन गरी प्लाष्टिक मुक्त बनाएको बताएका छन् ।

पोखरेलले भने,“पिपलबोट ज्येष्ठ नागरिक समूहको नेतृत्वमा टोल सफा सुग्घर राख्न महिनामा दुई दिन सरसफाई गर्ने कार्यतालिका बनाएका छौ ।हाम्रो अभियान निरन्तर सञ्चालन हुन्छ ।”

पिपलबोट ज्येष्ठ नागरिक समितिको अध्यक्ष जयकृष्ण पोखरेल रहेका छन् । त्यसैगरी उपाध्यक्षमा बेदनिधि दवाडी, सचिव भुवनेश्वर पोखरेल,सहसचिव प्रकाश पोखरेल तथा कोषाध्यक्ष इन्दिरा पोखरेल छन् ।

समितिको सदस्यहरुमा खुशिमान गुरुङ,टिकादेवी अधिकारी, गितादेवी पोखरेल भवानीप्रसाद दवाडी,रामबहादुर ज्यू ठकूरी र टुकबहादुर परियार रहेका छन् ।

अध्यक्ष जयकृष्ण पोखरेलले टोलको विकास निर्माण लगायतका क्षेत्रमा आफूहरुको ज्ञान, सीप र अनुभव युवाहरुमा हस्तान्तरण गर्ने योजना रहेको बताए । उनले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र आवश्यक रहेकाले प्रदेश तथा स्थानीय सरकारले आवश्यक सहयोग गर्न आग्रह समेत गरेका छन् ।

Comments
Loading...