पोखरामै भएपनि विकास निर्माणमापछि परेको चौरवासीको गुनासो

श्रीभद्र पौडेल
हिमाली आवाज । पोखरा–१८ साविक सराङकोट–६ ग्यारजाती स्थित चौर वासीले विकास निर्माणको हिसावले आफूहरु पोखरा महानगरपालिकावासी हौं भन्ने कुराको आधार नभएको भन्दै गुनासो गरेका छन्।

न त हाम्रो ठाउँमा सहजै गाडी हिड्ने बाटो नै बनेको छ।नत खानेपानीको सहज प्रबन्ध नै ।संघियता आएपछि देशमा विकास निर्माण राम्रै हुन्छ भन्ने लागेका चौरवासीले आफूहरुले संघियताको स्वादसम्म चाख्न नपाएको तितो सुनाए।

पहिला हामी ग्यारजाती २ का थियौं ।पछि सराङकोट ६ वासी भयौं। हँदाहुँदै पोखरा उपमहानगर पालिका हुँदै महानगरवासी पनि भयौं। प्रशासनिक ठेगाना फेरिने काम मात्रै भयो तर विकास निर्माणले त झन् पछि प¥यौँ चौरका स्थानीय टंकप्रसाद अधिकारीले गुनासो पोखे।

चुनाव जितेर गएका जनप्रतिनिधीले विकास निर्माण त गछौं भनेका नै थिए तर अहिले उनीहरु हाम्रो पहुँचभन्दा टाढा भए । अव कसरी गाउँमा विकास निर्माण गर्ने हो ? कहिलेसम्म भड्खारो खोलाजस्तो सडकमा यात्रा गर्नुपर्ने हो ? गाउँलेहरुले प्रश्न गरेका छन्।

School

उक्त गाउँमा पोखराको पस्र्याङबाट वि.स २०६३ सालमा बाटो खनिएकोमा त्यसको हालसम्म पनि स्तरउन्नती हुन सकेको छैन।सडकमा सहजै मोटरसाइकल चलाउन सक्ने अवस्थासम्म छैन भने, पानीको निकासका लागि नाला, सडकको लेभलिङ कार्य पनि गरिएको छैन।ढलान र पीच त निकै परको कुरा।

सडकको अवस्थाबारे शनिवार गाउँभेला बसेको छ।जसका बीच गाउँलेहरुले सडक एम्वुसजस्तो भएको भन्दै जुनसुकै बेला दुर्घटनामा पर्न सकिने औँल्याए।

उक्त भेलाले स्थानीय कुखुरे बाद्धो देखी चौरसम्मको सडक स्तरउन्नतीका लागि टंकप्रसाद अधिकारीको अध्यक्षतामा निर्माण समिति पनि गठन गरेको छ।जसको उपाध्यक्षमा विमला क्षेत्री, सचिवमा शिवप्रसाद विक, कोषाध्यक्षमा देवीप्रसाद अधिकारी तथा सदस्यहरुमा नारायणी शर्मा, रिता अधिकारी, लिलामणी भुर्तेल र मैयाँ भुर्तेल अधिकारी छन्।

त्यस्तै विष्णुप्रसाद अधिकारी, भगवान् अधिकारी र चन्द्रमणी अधिकारीलाई सल्लाहकार चयन गरिएको छ ।आवश्यकता अनुसार सदस्यहरु थप गरिने जनाइएको छ ।गाउँलेहरुले सडकको अवस्थाबारे शनिवारै नापजाँच समेत गरेका छन्।

टिप्पणिहरु
Loading...