पोखरामा एकै परिवारका छ जनामा कोरोना सङ्क्रमण

हिमाली आवाज । पोखरा महानगरपालिका–१६ का एकै परिवारका छ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

असोज २३ गते अर्मला प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको नमूना सङ्कलनको आइतबार आएको परीक्षण नतिजामा उनीहरुमा सङ्क्रमण पुष्टि भएको सोही वडाका वडाध्यक्ष जीवन प्रसाद आचार्यले बताए ।

“ज्वाईलाई शुरुमा सङ्क्रमण देखिएपछि अन्यमा गरिएको परीक्षणमा परिवारका छ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।”वडाध्यक्ष आचार्यले भने । सङ्क्रमित सबै जना हाल होमआइसोलेशनमा रहेका छन् ।

शुक्रबार वडामा ४४ जनाको परीक्षण गरिएकामा १५ को नतिजा पोजिटिभ आएको बताइन्छ । सङ्क्रमित अन्य नौ जना तीन परिवारका सदस्य रहेको वडाले जनाएको छ ।
कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको बताइन्छ ।गण्डकी प्रदेशमा आइतबार एकै दिन १५४ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

 वडा कार्यालय बन्द हुने
यसैबीच पोखरा महानगरपालिका–१६ को वडा कार्यालय सोमबार बन्द हुने भएको छ ।

सोही वडाका विसं २०४९ का निर्वाचित वडाध्यक्ष उदयबहादुर बस्नेतकोे ६८ वर्षको उमेरमा आज निधन भएकाले उहाँप्रति सम्मान व्यक्त गर्न कार्यालय बन्द हुने वडाध्यक्ष आचार्यले जानकारी दिए ।

वडाले मृतक बस्नेतप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

Comments
Loading...