जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गर्ने योजनाकार सहित तीन पक्राउ

काठमाडौँ । जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको अभियोगमा प्रहरीले मुख्य योजनाकार सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार शेर्पा भनिने कामी लामा, रमेश तामाङ र प्रेम तामाङ रहेका छन । भक्तपुरको चाँगुनारायण नगरपालिका ८, सुडालका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको हत्यामा संलग्न उनीहरुलाई प्रहरीले बौद्ध क्षेत्रबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले बताएको छ ।

जग्गा हेर्न भन्दै गएका उनीहरुले गत हप्ता योञ्जनलाई कुटपिट गरेका थिए । कुटपीटबाट गम्भिर घाइते योञ्जनको उपचारका क्रममा मृत्यु भएको थियो । अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले उनीहरुले जग्गा किन्ने बहाना बनाएर मृतक योञ्जनसँग रहेको सुन लुट्न कुटपिट गरेको बताए ।

कुटपिटपछि उनीहरु दुई तोला दुई लालको ब्रासलेट र मोबाइल लगेर फरार भएका थिए । प्रहरीले घटनास्थलमा भेटिएको हेलमेटका आधारमा अनुसन्धान गरी अपराधिहरुलाई पक्राउ गर्न सफल भएको उनले बताए ।

Comments
Loading...