मन्त्रिपरिषद विस्तारमा प्रचण्डको असहमति, माधव र झलनाथलाई पत्तै भएन

काठमाडौं । प्रधानमन्त्री केपी शर्माले बुधबार मन्त्रिपरिषद् विस्तार तथा हेरफेरले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि हलचल पैदा गरिदिएको छ।

पार्टीभित्र चर्किएको विवाद गत भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकबाट टुंगो लगाइएको भने पनि प्रधानमन्त्री ओलीका पछिल्ला कदमले पार्टीभित्र फेरि विवाद चर्किन थालेको नेकपा नेताहरुले बताउन थालेका छन्। त्यसैको पछिल्लो कडीको रुपमा बुधबार तीन जना मन्त्रीको नियुक्ति र मन्त्रालय हेरफेरलाई लिइएको छ।

मन्त्रिपरिषद विस्तारको सूची राष्ट्रपति कार्यालयबाट सार्वजनिक हुनेबित्तिकै पार्टी सचिवालयका सदस्यहरु आफूहरुलाई थाहै नदिइएको बताउन थालेका छन् भने पार्टीका कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका प्रचण्ड भने आफूलाई प्रधानमन्त्रीले चाल्न थालेको कदम थाहा भए पनि आफ्नो सहमति नभएको निकट नेताहरुसँग बताइसकेका छन्।

स्रोतका अनुसार नेकपाको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेपछि अध्यक्ष प्रचण्डले पार्टी बैठकको निर्णयअनुसार मन्त्रिपरिषद् हेरफेर गर्नुपर्नेमा जोड दिदै आएका थिए। तर, प्रधानमन्त्री ओलीले भने रिक्त मन्त्रालयमा मात्रै नयाँ थप्ने र बाँकी पछि गर्ने भन्दै टार्ने गरेका थिए।

नेपाल र खनाललाई थाहै छैन

प्रधानमन्त्रीले नयाँ मन्त्रीहरुको नियुक्ति र हेरफेरबारे आफूहरुलाई थाहै नदिइएको नेकपा वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले आरोप लगाएका छन्।

प्रधानमन्त्री ओलीले सचिवालयमा कुनै छलफल नै नगरी मन्त्रीहरु नियुक्त गरी मनपरी निर्णय गरिरहेको उनीहरुको आरोप रहेको नेपाल निकट एक नेताले बताए।

Comments
Loading...