गाँजा खान नपाएपछि साथीको बञ्चरो प्रहार गरी हत्या!

काठमाडौँ । बञ्चरो प्रहार गरी साथीको हत्या गरेको आरोपमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन्।

इलाका प्रहरी कार्यालय अनारमनीमा आज पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले आरोपीलाई सार्वजनिक गरेका छन्।

बुधबार बिहान कनकाई–३ एकान्त टोलस्थित सुरुङ्गा खोलाको बाँध र बाँसघारीको झ्याङको बीचमा सोही स्थानका २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

‘युवाको शव हत्या गरेको अवस्थामा फेला परेको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको हो’, प्रमुख कोइरालाले भने, ‘सोही दिन आरोपीलाई पक्राउ ग¥यौं।’

शव फेला परेको अघिल्लो दिन अर्थात् मङ्गलबार राति ९ः३० बजे घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
मृतक र अभियुक्त दुवै लागुऔषध दुर्व्यसनी रहेको प्रहरीले जनाएको छ।

मृतक अभिषेकले रविनलाई १ सय रुपैयाँ दिएर गाँजा किन्न पठाएका थिए। रविनले गाँजा किनेर ल्याएको र सेवन गर्ने बेलामा मृतक अभिषेकले ‘तँलाई दिन्न त के गर्छस्’ भनेर गाली गलौज गरेर एक झापड हिर्काएका थिए। अभिषेकसँग रहेका अन्य साथीले समेत कान तानेर जिस्काएको अनुसन्धानबाट खुलेको छ।

सोही घटनापछि आफू अपमानित भएको महशुस गरेर रविनले आफ्नो घर गएर दाउराको थाकमा राखिएको बञ्चरो लिएर आएका थिए।

अभिषेकलाई पर्खिएर गतिविधि नियालिरहेका रविनले अभिषेकले मोबाइलको टर्च बालेर भुइँमा घोप्टो परेर केही खाने चिज बनाउँदै गरेको देखे र सोही अवस्थामा पछाडिबाट बञ्चरोले टाउकोमा प्रहार गरेको अनुसन्धानबाट खुलेको छ।

Comments
Loading...