जोखिमपूर्ण क्षेत्रबाट आउँदा पिसिआर परीक्षण गरेर आउन स्याङ्जा प्रशासनको आग्रह

हिमाली आवाज । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोरोना संक्रमण बढी भएका भारत, तेस्रो मुलुक तथा काठमाडौँ लगायत जोखिमपूर्ण स्थानबाट जिल्लामा आउँदा कोरोना परीक्षण गरेर  आउन अनुरोध गरेको छ ।

जोखिमपूर्ण क्षेत्रबाट आउने मानिसहरुका लागि मात्र आफू र समुदाय सुरक्षित भएको आश्वस्त पार्न पिसिआर रिपोर्ट नेगेटिभ लिएर आउन अनुरोध गरिएको प्रशासनले जनाएको छ । पिसिआर गर्न आग्रह र अनुरोध मात्र गरिएको प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले बताए ।

त्यसैगरी जिल्लामा पर्ने सिद्धार्थ राजमार्ग भएर आउन जान, जिल्ला प्रवेश गर्न तथा बाहिर जान, स्वास्थ्य प्रोटोकल पालना गरी यातायात सञ्चालन र बजार खोल्न रोक लगाउने गरी कुनै आदेश जारी नगरिएको प्रशासनले स्पष्ट पारेको छ।

प्रशासनले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन, सभा समारोह भेला तथा भिडभाड नगर्न नगराउन, स्वास्थ्यसम्बन्धी आवश्यक सम्पूर्ण सावधानीहरु अपनाउन आग्रह गरेको छ ।

Comments
Loading...