‘मादीमा विकासको लहर’

हिमाली आवाज । कास्कीको मादी गाउँपालिकाले दशैंको घटस्थापनाको अवसरमा आज गाउँपालिका कार्यालय याङजाकोटमा झण्डा पूजा तथा दशै तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँपालिकाले आफनो स्थापनाकालदेखि प्रत्येक वर्ष दशैंको घटस्थापनाको अवसरमा हिमाली क्षेत्रमा हुर्किएको भेडाको साँढ बलि दिएर पूजा गर्दै आएको छ ।
आज पूजापछि आयोजना गरिएको शुभकामना कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले सबैलाई दशैंको शुभकामना दिँदै अहिले मादीमा विकासको लहर चलिरहेको र यसको प्रत्यक्ष लाभ जनताले अबको केही समयपछि पाउने बताए ।
स्थानीय सरकार आएपछि अहिले मादीको मुहार फेरिएको र जनताले आफै महसुश गरेको भन्दै मादी कास्कीकै विकट कर्णाली क्षेत्र भएता पनि समृद्धिको बाटोमा अघि बढेको उनको भनाई छ ।

यसै वर्षमात्रै मादीमा थुप्रै झोलुङगे पुल, पक्की पुल निर्माण सम्पन्न भएको र अहिले इदि, वार्दी, मकैखोला लगायतको स्थानमा पक्की पुलको निर्माण कार्य शुरु भईसकेको प्रमुख क्षेत्रीले बताए ।मादीको कतिपय क्षेत्रमा २०५१ सालमा शिलान्यास गरेको पुलहरु अहिलेसम्म नबनेको तर अहिले मादीको पहिलो स्थानीय सरकारले ठूलाठूला महत्वपूर्ण योजनाहरु समय भन्दा अगाडी नै सम्पन्न गरेर जनताको मन जित्न सफल भएको उनको भनाई छ ।

गाउँपालिका अध्यक्ष वदेबहादुर गुरुङले अहिले कोभिडको महामारीका बेला पनि आफूहरुले परम्परालाई निरन्तरता दिनका लागि सामान्य ढंगले झण्डा पूजा गरेको बताए । उनले नेपाल बहुलजाति र बहुलभाषी मुलुक भएको र यहाँको आफ्नै साँस्कृतिक विशेषता रहेको तथा मादीको सम्पति पनि यही भिन्न संस्कृति भएको भन्दै यही संस्कृति मार्फत नेपालीलाई एकताको सुत्रमा बाँधेको उल्लेख गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सदस्यहरु नवराज बराल र वृहस्पति सापकोटा, नेकपा मादी गाउँपालिका अध्यक्ष कृष्णराज दाहाल, नेपाली काँग्रेस मादी गाउँपालिका अध्यक्ष देविजंग गुरुङ, गाउँपालिका उपाध्यक्ष विष्णुमाया आचार्य पौडेल लगायतले समृद्ध मादी निर्माणको अभियानमा लाग्न आग्रह गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा मादी ३ का वडा अध्यक्ष मनबहादुर गुरुङले स्वागत गरे ।
कार्यक्रममा मादी ७ मा २३ वर्षसम्म करार दरबन्दीमा सेवा गरेका कर्मचारी मीनबहादुर गुरुङले उमेर हदका कारण अवकास लिएपछि गाउँपालिकाले दोसल्ला सम्मान पत्र र रु ४५ हजारसहित बिदाइ गरेको छ ।

 

Comments
Loading...