दशैँमा यात्रुका गुनासा सुन्न पोखराका दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना

हिमाली आवाज ।जिल्ला प्रहरी कार्यालयले पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले शनिबार सो सहायता कक्षको उद्घाटन गर्नुभएको हो ।

आउदै गरेको विजया दशमी, शुभ दीपावली, छठ तथा ईद पर्वलाई लक्षित गरी तयार गरिएको ‘चाडपर्व विशेष सुरक्षा योजना’ अन्तर्गत २४ सै घण्टा सेवा प्रवाह गर्ने गरी यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी बाग्लुङवसपार्कमा समेत सहायता कक्ष राखिने प्रहरीले जनाएको छ । आइतबार साँझसम्म बाग्लुङ बसपार्कको सहायता कक्ष सञ्चालमा आउने छ ।
दुबै सहायता कक्षमा एक ट्राफिक प्रहरी तथा एक जनपथ प्रहरीले सेवाग्राहीका गुनासा सुन्ने र समाधान गर्नेछन् । चाडपर्वका बेला सवारी आवागमनमा वृद्धि, ट्राफिक व्यवस्थापन, बढी भाडा असुली, क्षमता भन्दा बढी यात्रु बोक्ने तथा सवारी दुर्घटना हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै सहायता कक्षको स्थापना गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी प्रहरीले स्थलमार्गबाट गण्डकी प्रदेशको राजधानी पोखरा भित्रिने मुख्य नाका छोरेपाटन, मजुवा र जौबारीमा यात्रु सँग ‘एक मिनेट कार्यक्रम’ सञ्चालन गरी गुनासा सुन्ने र कोरोना सचेतना लगायतका बारेमा जानकारी गराउन शुरु गरेको छ ।

विजयादशमी लगायतका ठूला चाडपर्वलाई लक्ष्य गरी जिल्लामा सम्भावित आपराधिक गतिविधिहरु नियन्त्रणका लागि सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ ।

Comments
Loading...