बैशाखयता विपद्जन्य घटनामा ४४४ को मृत्यु

हिमाली आवाज । वैशाखयता विपद्जन्य घटनामा परेर मुलुकभर चार सय ४४ को मृत्यु भएको छ । उक्त अवधिमा एक सय एक वेपत्ता भएका छन् भने सात सय ३९ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यसपालि पहिरोले ठुलो क्षति गरेको बताउँदै विपद्का घटनामा परेर एक हजार सात सय ५५ चौपाय मरेको र झण्डै रु ८२ करोड क्षति भएको जानकारी दिनुभयो ।

प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी पहिरोबाट मात्रै दुई सय ९५ को मृत्यु, ६४ वेपत्ता र दुई सय २३ घाइते भएका छन् । पहिरोले चार सय ३५ जना पशुचौपाय क्षति भएको छ ।

पहिरोबाट अनुमानित रु पाँच करोड ९ लाखको क्षति भएको छ । त्यसपछि चट्याङ्ले बढी मानवीय क्षति गराएको छ । चट्याङ्बाट ६५ को मृत्यु, दुई सय १३ घाइते र छ सय ९६ चौपाय क्षति भएको छ । चट्याङले रु ५९ लाख भौतिक क्षति भएको विवरणमा उल्लेख छ ।

Comments
Loading...