कोरोना नियन्त्रणका लागि संकटकाल र कफ्र्यु लगाउने सूचना भ्रामक : गृहमन्त्रालय

काठमाडौँ – गृह मन्त्रालयले सामाजिक सञ्जाल तथा सर्ट म्यासेज सर्भिस (एसएमएस) मार्फत सरकारले मुलुकभर सङ्कटकाल र कफ्र्यु लगाउँदै भनेर सोमबार सार्वजनिक भएको सूचना गलत र भ्रामक भएको स्पष्ट पारेको छ ।

कोरोना सङ्क्रमण (कोभिड–१९) महामारी नियन्त्रण तथा रोकथाम र अन्य कुनै कारण देखाई सङ्कटकाल तथा कफ्र्यु लगाउनेसम्बन्धी सरकारको कुनै योजना नभएको स्पष्ट गर्दै गृह प्रवक्ता चक्रबहादुर बुढाले तथ्यहीन, भ्रामक, निराधार र गलत सूचनाप्रति विश्वास नगर्न आग्रह गर्नुभएको छ ।

सुरक्षाजस्तो संवेदनशील विषय जोडेर सामाजिक सञ्जाल, मोबाइल र अन्य विद्युतीय सञ्चार माध्यमबाट बिहान एकाएक फैलिएको भ्रामक सूचनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण हुनका साथै यस घटनाका विषयमा आवश्यक अनुसन्धान अगाडि बढाइएको जानकारी प्रवक्ता बुढाले दिनुभयो ।

सरकारले कुनै पनि बहानामा चाडपर्वको मुखमा सङ्कटकाल तथा कफ्र्यु लगाउने सोच राखेको छैन भन्दै प्रवक्ता बुढाले भन्नुभयो, “सामाजिक सञ्जालमा आएको भ्रामक सूचना निराधार र तथ्यहीन हो । यसप्रति विश्वास नगरी सबैलाई सूचित हुन आग्रह गर्दछाँै ।” आजको गोरखापत्रमा समाचार छ ।

Comments
Loading...