चिनियाँ कम्पनीले बनाएको कोभिड विरुद्धको खोपको पहिलो र दोस्रो परीक्षण सफल

एजेन्सी । चिनियाँ कम्पनीले बनाइरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको पहिलो र दोस्रो परीक्षण सफल भएको पाइएको छ।

चिनियाँ सरकारद्वारा सञ्चालित सिनोफार्म कम्पनीले विकास गरिरहेको कोरोना खोप बीबीआईबीपी–कोरभीको पहिलो र दोस्रो चरणको परीक्षण सफल भएको द ल्यान्सेट जर्नलमा प्रकाशित एक रिर्पोटमा बताइएको छ।

उक्त रिपोर्ट अनुसार पहिलो र दोस्रो चरणको परीक्षणमा सहभागी व्यक्तिलाई गम्भीर प्रकृतिको कुनै नकारात्मक प्रतिक्रिया नदेखिएको र शरीरमा एन्टीबडी पनि विकास भएको बताइएको छ।

खोपको परीक्षणमा १८ देखि ८० वर्ष उमेर समूहका व्यक्तिलाई सहभागी गराइएको थियो। अध्ययनका अनुसार ६० वर्षभन्दा माथिका व्यक्तिमा एन्टीबडी बन्न बढी समय लागेको थियो। यो उमेर समूहका व्यक्तिमा एन्टीबडी बन्न ४२ दिनसम्म लागेको अध्ययनमा उल्लेख छ।

युवा उमेर समूहका सहभागीमा भने २८ दिनसम्ममा एन्टीबडी विकास भएको बताइएको छ। उमेर समूहअनुसार एन्टीबडीको मात्रा पनि फरक रहेको अध्ययनमा पाइएको छ। कम उमेर समूहका व्यक्तिमा भन्दा वृद्धवृद्धामा एन्टीबडीको मात्रा कम भएको अध्ययनमा देखिएको छ।

Comments
Loading...