फेवातालको चार किल्ला निर्धारण समिति संयोजकमा पुण्य पौडेल नियुक्त

हिमाली आवाज । गण्डकी प्रदेश सरकारले फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्सांकन समितिको संयोजकमा पुण्यप्रसाद पौडेललाई नियुक्त गरेको छ ।

गत कात्तिक २ गते सम्पन्न प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रश्तावमा अन्नपूर्ण गाउँपालिका वडा नं ३ निवासी पौडेललाई संयोजकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।
समितिमा नियुक्त पौडेल जिल्ला विकास समिति कास्कीका पूर्व सभापति तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गण्डकी प्रदेश कमिटीका कार्यालय सदस्य हुनुहुन्छ ।

पोखरास्थित पर्यटकीय गन्तव्य फेवाताल संरक्षणका लागि सर्र्वोच्च अदालतले पटक पटक सरकारलाई आदेश दिएको छ । संघीय सरकारले गत साउनमा फेवातालको चार किल्ला सीमाङ्कनका लागि भूमि व्यवस्था मन्त्रालय तथा संरक्षित जलाधार क्षेत्र घोषणका लागि वन तथा वातावरणम मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।

समितिका अन्य सदस्यहरुमा  पोखरा महानगरपालिकाका प्रमुख, डिभिजन वन कार्यालयका प्रमुख, राष्ट्यि ताल संरक्षण समितिका सदस्य,नापी विभागका उपसचिव तथा नापी कार्यालय कास्कीका प्रमुख सदस्य सचिव रहनेछन् ।

मन्त्रिपरिषद् बैठकले यस वर्षको विपद्बाट प्रभावित म्याग्दीलाई पनि संकटग्रस्त जिल्ला घोषणा गर्न संघीय सरकरालाई सिफारिस गर्ने निर्णय गरेको छ । यस अघि संघीय सरकारले बाग्लुङलाई संकटग्रस्त जिल्ला घोषणा गरेको थियो । बैठकले पूर्वाधार विकास कार्र्यविधिलाई संशोधन गरेको छ ।

Comments
Loading...