कक्षा १२ को परीक्षा मङ्सिर ९ देखि

हिमाली आवाज । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण गत वैशाख महिनाको स्थगित कक्षा १२ को परीक्षा आउँदो मङ्सिर ९ गतेबाट सञ्चालन गरिने भएको छ । सरकारले स्थगित परीक्षा सञ्चालन गर्न सक्ने अधिकार दिएसँगै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा कार्यतालिका सार्वजनिक गरेको हो ।

मङ्सिर ९ गतेबाट सुरु भएको परीक्षा १६ गतेसम्म सञ्चालन हुनेछ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले अब परीक्षाको तयारी सुरु गरिने जानकारी दिनुभयो । बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस पटक छोटो खालको परीक्षा लिइने भएको छ ।

जसअनुसार बढीमा डेढ घण्टाको परीक्षा लिइने भएको छ । यसका साथै विद्यार्थीको कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कनलाई पनि जोडिनेछ । साथै कक्षा १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयले लिने आन्तरिक मूल्याङ्कनको २० प्रतिशतका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिनेछ ।

Comments
Loading...