नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध हुँदैछ : पूर्व राजा ज्ञानेन्द्र

हिमाली आवाज । पूर्वराजा ज्ञानेन्द्र शाहले विपत्तिमा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको बताउनुभएको छ ।

विहीबार (आज) बडादशैंको अवसरमा शुभकामना सन्देश दिदै पूर्वराजा शाहले जिम्मेवार पक्षबाट जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत नहुँदा जनताको दैनिकी कष्टकर बन्दै गएको बताउनुभएको हो ।

उहाँले शुभकामना सन्देशमार्फत् भन्नुभएको छ, ‘हर्षोल्लासका साथ विजया दशमी मनाउन सकिने अवस्था नरहे पनि हामी देशभित्र र देश बाहिर बसेका समस्त नेपालीहरुमा सुख, सुस्वास्थ्य, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु ।’

त्यस्तै, उहाँले जनतालाई बचाउन सके मा राज्य बच्ने राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनुपर्ने बताउनु भएको छ । उहाँले भन्नुभएको छ, ‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध यति बेला हुदैछ ।’

यसका साथै उहाँले आहार विहार, आचार विचार, विधि व्यवहार, शासन प्रशासन एवं पद्धति प्रणाली पनि प्रकृति र संस्कृति अनुरुप हुनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘अनि मात्रै हाम्रो स्वस्थ, शान्त, सुरक्षित र समृद्ध हुन सक्दछौं ।

आपसी समन्वय, सद्भाव र सहकार्यलाई छाडेर जब हामी व्यक्तिवाद, समूहबादतर्फ उन्मुख हुन्छौं, तब स्थिर, सुदृढ र सन्तोषजनक राष्ट्रिय परिणाम प्राप्त हुन सक्दैन ।’

Comments
Loading...