तस्करको आक्रमणमा मारिएका प्रहरीका परिवारलाई प्रदेश सरकारको राहत

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले नियमित गस्तीका क्रममा तस्करको आक्रमणमा परी ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मृतक प्रहरीका परिवारलाई जनही एक लाखका दरले राहत उपलब्ध गराउने र मृतकका बालबालिकाको नाममा खाता खोली थप एक एक लाख जम्मा गरिदिने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो ।
धनगढी उपमहानगरपालिका १२ स्थित नेपाल(भारत सीमा क्षेत्रमा नियमित गस्तीमा रहेका प्रसनि विक र प्रज साउदको यही कात्तिक १ गते राति तस्करको समूहले हत्या गरेको थियो । कञ्चनपुरका प्रसनि विक र अछामका प्रज साउद धनगढी उपमहानगरपालिका(१२ जुगेडामा रहेको अस्थायी प्रहरी पोष्टमा कार्यरत हुनुहुन्थ्यो ।

मृतक प्रहरीको शव सीमा क्षेत्रको मोहना नदीमा फेला परेको थियो । प्रहरीले उक्त घटनामा संलग्न भएको अभियोगमा धनगढी उपमहानगरपालिका १० का सात जनालाई पक्राउ गरेको छ ।

Comments
Loading...