भरतपोखरीको कोटभैरवमा मल्लकालिन परम्परा निरन्तरता दिदै फूलपाती भित्राइयो

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित मल्लकालिन कोटभैरव मन्दिरको कोतघरमा मल्लकालिन परम्परालाई निरन्तरता दिदै आज फूलपाती भित्राइएको छ ।

कोरोना महामारीको विद्यमान अवस्था एवम् प्रशासनको निर्देशन समेतलाई दृष्टिगत गदै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी फूलपाती भित्राइएको कोटभैरव मन्दिर संरक्षण एवम् सम्बद्र्धन समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिनुभयो ।

प्राचीन प्रचलन अनुसार प्रत्येक वर्षको आश्विन शुक्ल सप्तमी(फूलपाती)का दिन मन्दिरका मगर पूजारीको व्यवस्थापनमा फूलपाती संकलनका लागि व्यक्ति खटाइने र उनीहरूले मन्दिर आसपासका बरमाझथर, बरधारापानी, बरपौवा लगायतका स्थानबाट फूलपाती ल्याउने प्रचलन छ । यसरी फूलपाती भित्राउँदा समाज एवम् राष्ट्रको कल्याण हुने जनविश्वास छ ।

देशका अन्य प्रमुख शक्तिपीठमा जस्तै कोटभैरव मन्दिरमा आश्विन शुक्ल प्रतिपदा(घटस्थापना) का दिन घटस्थापना गरी धुमधामका साथ फूलपाती, महाअष्टमी, कालरात्री र महानवमीमा विशेष पूजाआजाका साथै विजयादशमीका दिन सामूहिक टिकाप्रसाद लगाउने प्रचलन रहेको अध्यक्ष महतले जानकारी दिनुभयो । मन्दिरमा मगर पूजारीले सरसफाई एवम् अन्य नियमित पूजाआजा गर्दछन् भने ब्राम्हण पूजारीले सप्तशती पाठ गर्ने गर्दछन् ।

कोरोना महामारीको विद्यमान अवस्थालाई दृष्टिगत गर्दै यस वर्ष भने सामान्य रुपमा ऐतिहासिक परम्परालाई निरन्तरता मात्रै दिइएको बताउँदै उहाँले बाह्य रुपमा आउने दर्शनार्थीका लागि भने पूजाआजामा रोक लगाइएको बताउनुभयो ।

Comments
Loading...