पोखराको बजार क्षेत्रको २५ किमी सडक ‘अस्फाल्ट’ प्रविधिबाट कालोपत्रे

हिमाली आवाज । पोखरा महानगरपालिकाको बजार क्षेत्रको २५ किमी मुख्य सडकमा अस्फाल्ट प्रविधिबाट कालोपत्रे शुरु भएको छ ।

यातायातको बढी चाप हुने बजार क्षेत्रमा खाल्डाखुल्डी परेर वर्षेनी सडक जीर्र्ण भएपछि प्रदेश सरकार, पोखरा महानगरपालिका तथा डिभिजन सडक कार्यालयले मुख्य सडकलाई  अमेरिकी प्रविधि अस्फाल्ट विधिबाट कालोपत्रे गर्ने भएका हुन् ।

हालको पीच सडकलाई स्तरोन्नति गरी अस्फाल्ट कालोपत्रे गरिने छ । सडक पाँच सेमी मोटाइको कालोपत्रे गरिएपछि सडक बलियो हुने र खाल्डाखुल्डी नपर्ने दावी महानगरको छ ।

सडकमा वर्षेनी खाल्डाखुल्डी परेर जीर्ण बनेको गुनासा आएपछि महानगरले कम्तिमा पनि पाँच वर्ष खाल्डाखुल्डी नहुने गरी अस्फाल्ट प्रविधिबाट कालोपत्रे शुरु गरेको महानगर प्रमुख मानबहादुर जिसीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“विज्ञको सिफारिसमा बढी चाप हुने सडकमा अस्फाल्ट विधिबाट पीच गर्न शुरु गरेका हौँ । लागत बढी पर्ने भएपनि टिकाउ हुने भएकाले यसलाई अनुशरण गरेका छौँ ।“ हाल न्यूरोड र रानीपौवामा क्षेत्रमा अस्फाल्ट कालोपत्रेको काम भइरहेको छ ।

प्रमुख जिसीका अनुसार महानगरले १४ किमी तथा पूर्वाधार कार्यालय र डिभिजन सडकबाट ११ किमी हाराहारीमा सडक स्तरोन्नती गरिने छ ।

पृथ्वीचोक, महेन्द्रपुल, केआइसिंह पुलहुँदै  महेन्द्र गुफासम्मको सात किमी ४०० मिटर सडकमा दुई किमी अस्फाल्टका लागि महानगरले ठेक्का लगाएकामा बाँकीमा सडक डिभिजनबाट ठेक्का व्यवस्थापन हुनेछ ।

त्यसैगरी जिरो किमी हल्लनचोक शहिदचोक हुदै मुस्ताङचोक सम्मको पाँच किमीमा प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले ठेक्का लगाइसकेको छ ।

महानगरले १४ किमी सडक अस्फाल्ट कालोपत्रेका लागि रु १७ करोड लागतमा ठेक्का सम्झौता गरिएको जनाएको छ । महानगरले गर्ने कामको जिम्मा जिम्मा इलाइट जेभीले पाएको छ ।

पृथ्वीचोक राष्ट्र बैँकचोक, विरौटसम्म दुई किमी ५०० मिटर सडकको पनि पूर्वाधार कार्यालयले काम गर्नेछ । अमरसिँहचोक रानीपौवाहुँदै महेन्द्रपुलसम्म दूई  किमी  ५०० मिटरमा महानगरले ठेक्का लगाएको र काम शुरु गरिएको महानगरका वरिष्ठ इन्जिीनियर शारदामोहन काफ्ले बताउनुभयो ।

बुद्धचोक वन क्याम्पससम्मको दुई किमीमा सडक डिभिजनले काम गर्नेछ ।  सभागृहचोक न्युरोड विपीचोक हुदै महेन्द्रपुलसम्मको तीन किमी सडक अस्फाल्ट प्रविधिबाट कालोपत्रे भइरहेको छ ।

Comments
Loading...