कोरोना कहर : गाउँमा समेत छैन यसपालि दशैँको रौनक

हिमाली आवाज । विगतका वर्षहरुमा दशैँ शुरु भएलगत्तै शहरबाट गाउँघर फर्किनेक्रम शुरु हुन्थ्यो । शहरमा रोजगारी तथा विभिन्न पेशा व्यवसायमा आवद्ध भएकाहरु दशैँमा गाउँ फर्किदा शहर सुनसान हुन्थे भने गाउँमा चहलपहल बढ्ने गर्दथ्यो ।

विदेशमा भएकाहरु समेत वर्ष दिनमा एक पटक आउने सबैभन्दा ठूलो पर्व दशैँ मनाउनका लागि घर फर्किने भएकाले गाउँघरमा घटस्थापनादेखीनै चहलपहल हुने गरेकामा यस वर्ष भने गाउँमा समेत दशैँको रौनक देखिएको छैन ।

कोरोना सङ्क्रमण महामारीका कारण सरकारले जारी गरेका चाडपर्व मनाउने मापदण्डका कारण मानिसहरु घरभित्रै सीमित भएका छन् । शहरबाट गाउँ फर्किनेहरु समेत थोरै मात्र छन् भने गाउँमा समेत कोभिड–१९ को त्रास कायम रहेकाले अत्यावश्यक बाहेक घरबाहिर निस्कनेहरु कम छन् ।

चियापसल र चौतारीहरु सुनसान छन् भने दशैँलाई लक्षित गरेर आयोजना गरिने महोत्सव र खेलकूद प्रतियोगिता लागतयका यस वर्ष कुनै पनि कार्यक्रम आयोजना भएनन् ।

पिङ, मानिसको चहलपहल र दशैँका अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान लगायतका कार्यक्रमले रौनक बढाउने गरेकामा यस वर्ष गाउँमा समेत दशैँको कुनै रमाइलो र चहलपहल नभएको माछापुच्छ«े गाउँपालिका–३ का वडाध्यक्ष सूर्यप्रसाद लम्सालले बताउनुभयो ।
“सरकारले आग्रह गरेकाले समेत होला यसपटकको दशैँमा गाउँघरमा समेत चहलपहल छैन,बजारबाट गाउँ आएकाहरु समेत घरभित्रै सीमित छन्।”वडाध्यक्ष लम्सालले भन्नुभयो,“यसपटक गाउँमा पिङ पनि हालिएका छैनन्,चहलपहल समेत पहिला जस्तो छैन, हामीले आग्रह गरे अनुसारनै भएको छ ।”

विगतमा गाउँका टोलै पिच्छे खुला स्थान र चौतारीमा हालिने रोटेपिङ र लठ्ठे पिङमा बालबालिकादेखी बृद्धबृद्धासम्मको चहलपहल हुन्थ्यो । पिङ खेल्नका लागि लामो समय बालबालिका पालो पर्खिएर बसेका हुन्थे । तर यस वर्ष त्यस्तो दृश्य देखिदैन ।

सरकारले आफू बसेकै स्थानमा चाडपर्व मनाउन आग्रह गरेपछि यस वर्र्ष दशैँमा गाउँ घर जानेहरु कम भएका हुन् । कोरोना सङ्क्रमणको त्रास सर्वत्र छ । गाडीमा हिँड्न समेत यात्रुहरु डराएका छन् भने कतिपय शहरबाट जाँदा गाउँमा सङ्क्रमण फैलने सक्ने भन्दै बजारमै बसेका छन् ।
पर्वतको मोदी गाउँपालिका स्थायी घर भई हाल पोखरा–१२ मा बसोबास गर्र्नुहुने शिला पौडेल विगतका वर्षहरुमा दशैँमा जसरी भएपनि आफ्नो घर पुग्नुहुन्थ्यो ।

घटस्थापनादेखी बच्चाहरुको विद्यालयमा दशैँ बिदा शुरु हुने भएकाले उहाँ त्यसको एक÷दुई दिनपछि गाउँ जाने गर्नुभएको थियो । तर यसपटकको दशैँमा भने उहाँ गाउँ जानुभएन ।

कोरोना त्रासका कारण पहिलोपटक पोखरामै बसेर दशैँ मनाउन लागिएको उहाँ बताउनुहुन्छ । “चाडबाढमा रमाईलो त आफ्नै गाउँमा हुन्थ्यो तर सङ्क्रमणको त्रासले यसपटक घर गईएन ।”उहाँले भन्नुभयो,“बजारमा सङ्क्रमण बढिरहेकाले गाउँ जाँदा जोखिम हुने र आफ्ना कारणबाट अरुले दुःख नपाउन् भनेर सरकारको आग्रह मानेर यहीँ दशैँ मनाउने निर्णय गरियो ।”

Comments
Loading...