मादी गाउँपालिकाले सञ्चालनमा ल्यायो आफ्नै एम्बुलेन्स

हिमाली आवाज । कास्कीको मादी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

जिल्लाका अन्य स्थानीय तहको तुलनामा भौगोलिक रुपमा विकट गाउँपालिकाले पालिकाको आफ्नै स्रोतबाट एम्बुलेन्स खरीद गरेर पालिकावासीलाई सेवा शुरु गरेको हो ।

विगतमा एम्बुलेन्स अभावमा बिरामीलाई अस्पतालसम्म लैजान समस्या पर्ने गरेकामा गाउँपालिकाको आफ्नै एम्बुलेन्स भएपछि १२ वटै वडाका स्थानीयवासीले सेवा पाउने छन् ।

बिरामीलाई अस्पतालसम्म लैजान गाउँमै एम्बुलेन्स नहुँदा पोखराबाट मगाउनुपर्ने बाध्यता अब हटेको छ । पालिका क्षेत्र भित्रका नागरिकलाई आकस्मिक स्वास्थ्य सेवा उपलव्ध गराउन शुक्रबारदेखी सेवा शुरु गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)ले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“विगतमा एम्बुलेन्स अभावमा नागरिकले धेरै दुःख पाएका थिए,बजारबाट बिरामी लिन आउनुपर्ने अवस्थाका कारण कतिपय बिरामीलाई समयमै अस्पताल लैजान नसक्ने अवस्था थिएन, अब त्यो समस्या हटेको छ ।”

नेपाल सरकारले उपलव्ध गराएको भन्सार छुटमा गाउँपालिकाले एम्बुलेन्स खरीद गरेको हो । भन्सार छुटपछि रु ११ लाख लागतमा खरीद गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

सेवा सञ्चालनका लागि गाउँपालिकाले कार्यविधि बनाएको छ । पालिकाका भित्रको पक्की सडकमा प्रति किमी रु १२५ तथा कच्ची सडकमा प्रति किमी रु २०० का दरले हाललाई भाडा तय गरिएको उहाँले बताउनुभयो ।

विभिन्न, असहाय र आर्थिक अवस्था कमजोर भएका नागरिकहरुका लागि पछि कार्यपालिकाले निर्णण गरेर निःशुल्क सेवा प्रदान गर्ने योजना रहेको बताइन्छ ।

गाउँपालिकाले कोरोना सङ्क्रमण रोक्न गत चैत ११ गतेदेखी आह्वान गरिएको बन्दाबन्दीका अवधिमा समेत बिरामीलाई अस्पतालसम्म लैजान निःशुल्क गाडीको व्यवस्था गरेको थियो ।

Comments
Loading...