महरा पत्नी सीताको निधनमा अध्यक्ष प्रचण्ड मर्माहत

हिमाली आवाज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पूर्वसभामुख एवं प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको असामयिक निधनले आफू मर्माहत भएको उल्लेख गर्नुभएको छ ।

आज एक शोक वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले स्व. महारा असल, सरल, मृदुभाषी, र जनताका बीच चाँडै नै घुलमिल गर्न सक्ने क्षमताकी धनी रहेको स्मरण गर्नुभएको छ । वक्तव्यमा दिवंगत महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।

तत्कालीन ने.क.पा. (माओवादी)द्वारा सञ्चालित १० वर्षे जनयुद्धमा स्व.महराले सक्रिय रुपमा पार्टीका विभिन्न कमिटीहरुमा रही आफ्नो भूमिका निर्वाह गर्नुभएको प्रचण्डले उल्लेख गर्नुभएको छ ।

महरा पत्नी सीताको पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा समस्या देखिएपछि कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते उहाँलाई हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उहाँको नर्भिक हस्पिटलमा आज बिहान ६ः२५ बजे निधन भएको हो ।

Comments
Loading...