कालीगण्डकी करिडोरमा पहिरामा पुरिएर पाँच कामदारको मृत्यु

कावासोती । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरामा पुरिएर आज साँझ पाँच जनाको मृत्यु भएको छ।

करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका सडकखण्डमा ग्याबिनमा ढुङ्गा भरिरहेका अवस्थामा माथिबाट खसेको सुख्खा पहिरामा पुरिएर पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा बुलिङटार –४का २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुङ्गेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी रहेको बताइएको छ। पहिरामा पुरिएका पाँचै जनालाई इलाका प्रहरी कार्यालय बुलिङ्टारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहायतामा निकालिएको थियो।

पहिरामा परी दुई जना घाइते भएका छन्। एक्काइस वर्षीय कृष्ण लुङ्गेली र १९ वर्षीय केवल सिंह लुङ्गेली मगर घाइते भएका हुन्। उनीहरु पहिरोमा परेपछि अन्य कामदारले उद्धार गरेका थिए।उद्धार गरिएका दुवै जनाको भरतपुरमा उपचार भइरहेको बताइन्छ ।

Comments
Loading...