खेल पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा : खेलकूदमन्त्री विश्वकर्मा

हिमाली आवाज । यूवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारले खेलकूदका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

पोखरा महानगरपालिका–२३ बाम्दीमा नवनिर्मित भलिबल मैदानको आज उद्घाटन गर्दै उहाँले खेल क्षेत्रको विकास पूर्वाधार निर्माण विना सम्भव नरहेकाले सरकारको प्राथमिकता पूर्वाधार निर्माणमा केन्द्रित रहेको उहाँले स्पष्ट पार्नुभयो ।

“पूर्वाधार निर्माणबाट मात्रै गाउँ गाउँमा खेलकूद गतिविधि बढेर नयाँ खेलाडी उत्पादनमा सघाउ पुग्दछ ।”मन्त्री विश्वकर्माले भन्नुभयो,“त्यसका लागि वर्तमान सरकारले खेलकूद पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको छ ।”

गत वर्षदेखी एक पालिका एक खेलग्राम कार्यक्रम कार्यान्वयन शुरु गरिएकाले सबै पालिकामा स्थानीयस्तरको रङ्गशाला निर्माण गरिने उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले भलिबल कोर्ट सहित बाम्दीमा पक्की कालोपत्रे सडक निर्माण शुरु भएकाले खेल गतिविधि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले गत वर्ष सम्पन्न १३ औँ सागमा निर्माण गरिएका पूर्वाधारको भुक्तानी अझै बाँकी रहँदा समस्या भएको बताउनुभयो ।
राष्ट्रिय खेलकूद परिषद्ले गत वर्ष उपलव्ध गराएको रु ५० लाख बजेटबाट भलिबल कोर्ट निर्माण गरिएको जिल्ला भलिबल सङ्घका अध्यक्ष समेत रहनुभएका स्थानीयवासी भीम पराजुलीले बताउनुभयोे ।

सो मैदानका लागि स्थानीयवासीबाट रु पाँच लाख ८४ हजार बराबरको श्रमदान भएको बताइन्छ । वडा कार्यालयले भलिबल कोर्ट सहित दर्शकका लागि प्यारापिट निर्माणका लागि जमीन उपलव्ध गराएको सोही वडाका वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

जिल्ला खेलकूद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले गत वर्ष जिल्लामा विभिन्न १६ खेल मैदान निर्माण तथा स्तरोन्नति गरिएको जानकारी दिनुभयो ।

Comments
Loading...