गण्डकीका ११ वटै जिल्लामा ट्राफिक प्रहरीको ‘चालकसँग एक मिनेट अभियान’शुरु

हिमाली आवाज । गण्डकी प्रदेशमा ट्राफिक प्रहरीले सवारी चालकको लापरवाहीबाट हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि आइतबारदेखी ‘चालकसँग एक मिनेट अभियान’ शुरु गरेको छ ।

गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका ११ जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ वटा अस्थाई ट्राफिक प्रहरी पोष्टहरुले एकै पटक अभियान शुरु गरेको र पहिलो चरणमा एक महिनासम्म सञ्चालन हुने गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले जनाएको छ ।

दिनप्रतिदिन बढ्दो सवारी चाप तथा बढ्दो सवारी दुर्घटनालाई ट्राफिक सचेतना मार्फत न्यूनीकरण गर्ने साथै प्रदेश भरिनै स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य रुपमा पालना गराई कोरोना सङ्क्रमणलाई फैलन नदिन सो अभियानको थालनी गरिएको गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले बताउनुभयो ।

पोखराको औधोगिक क्षेत्रमा प्रहरी उपरीक्षक ढकालले सवारी साधनका चालकहरुसँग ट्राफिक सचेतना तथा कोरोना भाईरसको सङ्क्रमणबाट बच्ने उपायहरु सम्वन्धी एक मिनेट सहजिकरण गरी प्रदेशभर अभियान शुरु भएको घोषणा गर्नुभएको थियो ।

सडकमा खटिएका ट्राफिक प्रहरीले सवारी साधनलाई रोकेर सवारी चालकलाई सम्मानपूर्वक नमस्कार गर्ने, कोरोना भाईरसबाट बच्नका लागी सामाजिक दूरी कायम गरी अनिवार्य रुपमा मास्क प्रयोग गर्न आग्रह गर्र्ने, मादक पदार्थ तथा नसाजन्य चिज बस्तुहरु सेवन गरी तीव्र गतिमा सवारी साधन नचलाउने लगायतका सचेतनामूलक सन्देश दिने र यात्रा सफलताको कामना गरी एक मिनेटमा बिदा हुने गरी कार्यक्रम तय गरिएको कार्यालयका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक मनोजकुमार शाहीले बताउनुभयो ।

कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको बन्दाबन्दी खुुकुलो भपछि सडकमा सवारी साधनको सङ्ख्या वृद्धि भएकाले सम्भावित कोरोना जोखिम नियन्त्रण गर्न र दुर्घटना न्यूनीकरणका लागि सो कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी पृथ्वीराजमार्ग, सिद्धार्थ राजमार्ग, पोखरा बाग्लुङ राजमार्ग तथा खुल्ला सडक खण्डमा ‘लिजर गन’को प्रयोगबाट सवारीको गति मापन गर्ने र तीव्र गतिमा सवारी हाँक्ने चालकलाई शुरुमा सचेत गराउने र कारवाही गर्ने कार्य शुरु गरिएको बताइन्छ ।

Comments
Loading...