नेकपा सचेतक गुरुङ कोरोना संक्रमणमुक्त

हिमाली आवाज । गण्डकी प्रदेशसभा नेकपा संसदीय दलका सचेतक गायत्री गुरुङ कोरोना संक्रमणमुक्त हुनुभएको छ ।

गत कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा रहनुभएका सचेतक गुरुङले मंगलबार स्वाब दिनुभएकामा आज रिपोर्ट नेगेटिभ आएको हिमाली आवाजलाई जानकारी दिनुभयो ।

नेकपा गण्डकी प्रदेश कमिटीको कार्यालय सदस्य समेत रहनुभएका गुरुङले दृृढ आत्मबल र सकारात्मक सोचाईबाटनै कोरोनालार्ई जित्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो,“कसैकसैलाई कोरोना केही होइन भन्ने पनि छ तर त्यस्तो पनि होइन । यसबाट जोगिने पहिलो उपायनै स्वास्थ्य सजगता हो र संक्रमणपछि सबैभन्दा ठूलो औषधी भनेकै दृढ आत्मबल हो । कोरोनासंक्रमणमुक्त भएकाले अब केहीदिनमै नियमित काममा फर्किने तयारीमा छु ।”

सचेतक गुरुङले संक्रमणपछि आइसोलेशनमा रहँदा विभिन्न माध्यमबाट आफूलाई स्वास्थ्यलाभको शुभेच्छा व्यक्त गर्नुहुने सबैप्रति आभार समेत व्यक्त गर्नुभएको छ । गुरुङको परिवारका अन्य दुई सदस्यलाई पनि संक्रमण पुष्टि भएकामा उहाँहरु अस्पतालमा उपचाररत रहनुभएको छ ।

Comments
Loading...