पोखरा महानगरको अत्यावश्यक बाहेकको सेवा मंसिर १२ सम्म स्थगित

हिमाली आवाज । पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्र्ने अत्यावश्यक बाहेकका सेवा एक साता स्थगन गरिएको छ ।

महानगरपालिकाले सूचना जारी गरी महानगरमा कार्यरत धेरै कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले अत्यावश्यक बाहेकका सेवा आगामी मङ्सिर १२ गतेसम्म स्थगन गरिएको जनाएको छ ।

महानगरका एक तिहाई कर्मचारीबाट सेवा प्रवाह गर्नु पर्ने भएकाले जरुरी र अत्यावश्यक काम नपरी महानगर तथा वडा कार्यालयमा नआउन सेवाग्राहीहरुलाई आग्रह गरिएको छ । यस अवधिमा महानगरको आंशिकमात्र सेवा प्रवाह हुनेछ।

महानगरका प्रवक्ता धनबहादुर नेपालीले उपप्रमुख मञ्जुदेवी गुरुङ सहित प्रमुखको सचिवालय,प्रशासन, लेखा लगायतका शाखा कार्यालयका गरी २७÷२८ जना कर्मचारी कोभिड–१९ सङ््क्रमित भएकाले सेवा प्रभावित भएको र एक साता सेवा बन्द गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“उपप्रमुख आँफै सङ्क्रमित हुनुहुन्छ,प्रमुखको सचिवालय,लगायत अन्य महत्वपूर्ण शाखाका कर्मचारीमा कोरोना पोजिटिभ भएकाले मङ्सिर १२ सम्मलाई जरुरी काम नपरी सेवाग्राहीलाई कार्यालय नआउनुहोस् भनेर सूचना जारी गरेका छौँ ।”

महानगरको बिहीबार बसेको कार्यपालिका बैठकले शुक्रबार सार्वजनिक बिदा दिने र एक साता जरुरी बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी महानगरपालिकाको पशु सेवा शाखाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । कर्मचारीमा कोरोना सङ्क्रमण र अन्य कन्ट्याक ट्रेसिङका परेका कारण सेवा बन्द गरिएको शाखा प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।

Comments
Loading...