देशका ३९६ स्थानीय तहमा अस्पताल बनाउन ५८ अर्ब पठाइने

काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहमा ३९६ वटा आधारभूत अस्पताल निर्माण गर्न करिब ५८ अर्ब रुपैयाँ पठाउने भएको छ ।

कोरोना महामारीको चपेटामा परेका नागरिकलाई जतिसक्दो छिटो सहज रूपमा स्वास्थ्य उपचारको व्यवस्था मिलाउने उद्देश्यका साथ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न आधारभूत अस्पताल निर्माणका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अघि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिनुभएको हो ।

अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले आगामी दुई वर्षभित्र ५, १० र १५ शैयाका आधारभूत अस्पताल निर्माण सम्पन्न हुने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थले सहमति दिने निर्णय गरेको जानकारी दिनुभयो ।

आवश्यक रकमको स्रोत सुनिश्चततासहित यस्तो व्यवस्था मिलाइदिएको अर्थ मन्त्रालयले यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी स्थानीय तहमा ससर्त अनुदानका रूपमा उपलब्ध गराउने जनाइएको छ ।

Comments
Loading...