राज्यले खेल र खेलाडीलाई न्याय दिन सकेन : राखेप सदस्य श्रेष्ठ

हिमाली आवाज । कास्की जिल्ला क्युकोशिन कान करातेको १० औ साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले रिक्त कोषध्यक्षमा सुजन आचार्य तथा सदस्य सुनिल थापा र अर्जुन बरामलाई नियुक्त गरेको छ । यसैगरी कोभिड–१९ महामारीको कारण ठप्प खेलकुद गतिविधि संचालन गर्दै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी प्रशिक्षणलाई तिव्रता दिने भएको छ ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सम्पन्न श्रेष्ठले राज्यले खेल र खेलाडीलाई न्याय दिन नसकेको बताउँदै खेलकूद क्षेत्रमा भएको खराब कुराहरुलाई फाल्दै खेलाडीको हक हितको लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय स्तरमै सबैभन्दा बढि पदक ल्याउने खेल मार्सलआर्ट भएपनि राज्यले खेललाई ओझेलमा पारेको उहाँको भनाई छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका लेखा प्रमुख डिवि नेपालीले खेलकुद संस्थाहरुले कोषाध्यक्ष र सचिवको प्रतिवेदन विरलै सार्वजनिक हुने गरेको बताउनुभयो ।

नेपाल क्युकोशिन कानका केन्द्रिय प्रशिक्षक राजेन्द्र सुवेदीले कोभिडको कारण प्रशिक्षणमा समस्या परेपनि पोखरा लगायत केही शहरमा भने सुरक्षा विधि अपनाएर मुख्य खेलाडीलाई प्रशिक्षण चलिरहेको बताउनुभयो ।

पोखरा महानगर कार्यपालिका सदस्य राधिका शाही, संघका पदाधिकारी दानबहादुर क्षेत्री, अध्यक्ष बेल बहादुर थापा लगायले आफ्नो भनाइ राख्नुभएको थियो । कोषध्यक्षको प्रतिवेदन संघका उपाध्यक्ष सागरराज गिरी र सचिवको प्रतिवेदन सचिव सुरेशराज अधिकारीले प्रस्तुत सभामा प्रस्तुत गर्नुभएको थियो ।

Comments
Loading...