कास्की काँग्रेसले क्रियाशील सदस्यताको काम मंसिर २० गतेसम्म सक्ने

पोखरा, ७ मंसिर । नेपाली काँग्रेस कास्कीले पार्टीको क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम मंसिर २० गतेसम्म सक्ने भएको छ ।

कास्की काँग्रेस पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेशसभा सभापति, पोखरा महानगरसहित आइतबार बसेको बैठकले मंसिर १५ गतेसम्म क्रियाशील सदस्यता नवीकरण र मंसिर २० गतेसम्म नयाँ वितरण सक्ने निर्णय गरेको प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

“मंसिर २० सम्म क्रियाशील सदस्यता सम्वन्धी काम सक्ने गरी जिल्ला, क्षेत्र, प्रदेश र वडाले काम गर्ने छन् छ, प्रवक्ता सिग्देलले भन्नुभयो,“केन्द्रको निर्देशन अनुसार तोकिएको समयभित्र काम सक्ने गरी कास्की काँग्रेस जुट्ने छ।”

कात्तिक २८ गतेको केन्द्रीय कार्यसमितिको बैठकले सदस्यता नवीकरण र नयाँ वितरणको काम मंसिर मसान्तसम्म सक्न देशभरका जिल्ला कार्य समितिलाई निर्देशन दिएको थियो ।

बैठकले सरकार पार्टीको आन्तरीक द्वन्द्वमा फँस्दै कोरोना महामारी नियन्त्रणप्रति गैर्जिम्मेवार बनिरहेको र संक्रमितले उपचार समेत नपाउने अवस्था भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकार गैरजिम्मेवार बनेका कारण आमनागरिकलाई आफ्नो सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दै बैठकले महामारीका बेला समस्यामा परेका नागरिकको सहयोगमा जुट्न पार्टीका सबै निकायलाई निर्देशन समेत दिएको छ । त्यस्तै, निजी अस्पतालमा कोरोना संक्रमितको उपचार व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेको छ ।

बैठकले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसी, शिक्षासेवी पोखरा ६ निवासी ईन्जिनियर लेखबहादुर गुरुङ, क्रियाशील सदस्य पोखरा १३ का दुर्गादत्त भट्टराई, मादी १ का क्या. तेजबहादुर गुरुङको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

Comments
Loading...