कर दिवसमा कास्की र स्याङ्जाका उत्कृष्ट करदातालाई सम्मान

हिमाली आवाज । आन्तरिक राजश्व कार्यालय पोखराले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने कास्की र स्याङ्जाका उत्कृष्ट करदातालाई आज सम्मान गरेको छ ।

नवौँ राष्ट्रिय कर सप्ताह समापनको अवसरमा कास्कीमा सबैभन्दा बढी आयकर तिर्ने टेम्पल ट्री रिसोर्टका सञ्चालक वसन्त गौतम र स्याङ्जाको सूर्योदय लघुवित्त सहकारी संस्थाका सञ्चालक गुणाखर सापकोटालाई सम्मान गरिएको कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत विजय लामिछानेले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारका प्रमुख सचिव विष्णु प्रसाद नेपाल र आन्तरिक राजश्व कार्यालय पोखरा प्रमुख ऋषिराम पोखरेलले उत्कृष्ट करदाताहरुलाई दोसल्ला, माला र प्रमाणपत्रले सम्मान गर्नुभएको थियो ।

कर सप्ताह अन्तर्गत यस वर्ष लेखनाथ उद्योग वाणिज्य सङ्घ, पोखरा चेम्वर अफ कमर्स, पृथ्वीनारायण क्याम्पसका व्यवस्थापनका विद्यार्थीसँग कर सचेतना तथा अन्तरक्रिया लगायतका कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

कार्यालयले चालू आर्थिक वर्षमा रु चार अर्व ८२ करोड राजश्व सङ्कलनको लक्ष्य लिएकामा पहिलो चौमासिकमा रु एक अर्व २० करोड राजश्व उठेको जनाएको छ । कात्तिक मसान्तसम्म कार्यालयले रु एक अर्व ५१ करोड उठाउने लक्ष्य लिएको थियो ।

आन्तरिक राजश्व कार्यालय पोखरा अन्तर्गत कास्की र स्याङ्जामा गरी एक लाख ५८ हजार ८५ करदाता कार्यालयमा दर्ता भएको कर अधिकृत लामिछानेले जानकारी दिनुभयो ।

Comments
Loading...