आँधीखोला गाउँपालिकामा टुनिखोला सिमलचौर ज्यामिरे सिँचाइ आयोजनाको शिलान्यास

हिमाली आवाज । स्याङ्जाको आँधीखोला गाउँपालिकाको पहल र भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशको लागतमा टुनिखोला सिमलचौर ज्यामिरे सिँचाइ आयोजनाको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सो आयोजना शिलान्यास गर्नुभएको हो ।

सधैँ आकाशे पानीको भरमा खेती गर्दै आएका आँधीखोला ४ का कृषक आयोजना शुरु भएसँगै हर्षित बनेका छन् । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले प्रदेश सरकार अन्तर्गत स्याङजामा ९ वटा सडक कालोपत्रे हुन लागेको जानकारी दिनुभयो । दुई वटाको काम शुरु भइसकेको छ भने अन्य सात वटा सडक समेत यसै वर्ष कालोपत्रे हुनेछन्  ।

साथै गण्डकी प्रदेश सरकारले प्रदेश भर ६० वटा नयाँ पुल बनाइरहेको जानकारी दिँदै त्यस मध्ये ८ वटा पुल स्याङजा जिल्लाका मात्रै रहेको मन्त्री उहाँले बताउनुभयो ।

योजनाको कुल स्वीकृत लागत अनुमान २ करोड ८५ लाख रहेको भएपनि १ करोड ९१ लाख ३४ हजार ८ सय १७ मा ठेक्का सम्झौता भएको छ । जेठ ५ गते ठेक्का सम्झौता भएको योजना २०७७ भदौ २४ गते सम्ममा ठेकेदार कम्पनीले काम सक्ने सम्झौता भएको सिँचाई विकास  डिभिजन कार्यालय स्याङ्जाका डिई हिमालय पौडेलले  जानकारी दिनुभयो ।

सिँचाई आयोजना सम्पन्न भइसकेपछि आँधीखोला वडा नं ४ का करिब १००  घर धुरीका १५०० रोपनी क्षेत्रफलमा खेती गर्ने कृषकहरू लाभान्वित हुने आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधिर पौडेलले जानकारी दिनुभयो । सिँचाइ योजना सम्पन्न भएपछि बर्सादको भरमा मात्रै खेती गर्नुपर्ने अवस्थाको अन्त्य हुँदै कृषि उत्पादनको वृद्धि हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य मीन प्रसाद गुरुङ, नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डाक्टर गिरिधारी शर्मा,पर्वतको फलेबास नगरपालिकाका मेयर पदमपाणी शर्मा, नेकपाका विष्णु पौडेल, काँग्रेसका प्रेमराज पौडेल, सिँचाइ डिभिजन कार्यालय स्याङजाका डिई हिमालय पौडेल, कुस्मा नगरपालिका वडा नम्बर १४ का अध्यक्ष भीम गुरुङ लगायतले भनाई राख्नुभएको थियो ।

आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको सञ्चालन  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले गर्नु भएको थियो भने स्वागत उपाध्यक्ष शर्मिला पौडेलले गर्नु भएको थियो । वडा नम्बर ४ का वडाध्यक्ष चिन्तामणि पौडेलले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

Comments
Loading...