गण्डकी प्रदेशसभाबाट पारित ऐनहरु चार पुस्तकमा

हिमाली आवाज । गण्डकी प्रदेश सरकारले प्रदेशसभाबाट हालसम्म पारित कानूनहरुको सङ्ग्रह पुस्तकका रुपमा प्रकाशनमा ल्याएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले विभिन्न चार खण्डमा विभाजन गरी प्रकाशनमा ल्याएको चार वटा सङ्ग्रह पुस्तकको आज आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान विमोचन गर्नुभयो ।

गण्डकी प्रदेशसभा गठनपछि सभाबाट हालसम्म ४६ ऐन पारित भएकामा त्यसमध्य ४४ वटा पुस्तिकामा समावेश गरिएको छ । प्रदेशले पारित गरेका ऐन कानून स्थानीय तह, अदालत लगायतका कानूून कार्यान्वयन गर्ने एकाइहरुमा नपुग्दा प्रदेश कानूनका बारेमा ती निकायहरु बेखबर बन्ने अवस्था आउन नदिन सङ्ग्रह प्रकाशनमा ल्याइएको र सबै निकायहरुमा उपलव्ध गराइने मन्त्री चुमानले बताउनुभयो ।

प्रदेशको एकल अधिकार सूचीमा रहेका कानून संविधानसँग नबाझिने गरी बनाउने गरिएको बताउँदै मन्त्री चुमानले भन्नुभयो,“ एकल अधिकार सूचीका कानून बनाउँदा संविधानसँग नबाझिने गरी बनाएका छौँ । कतिपय साझा अधिकार सूचीमा रहेका विषयमा सङ्घमा कानून नबन्दा प्रदेशलाई अप्ठ्यारो भएपनि सङ्घको मापदण्ड र आधार अनुसार कानून निर्माण गरेका छौँ ।”

मन्त्री चुमानले प्रदेश सरकारलाई आवश्यक पर्ने ऐन कानूनहरु निर्माण गरिसकेको बताउँदै कतिपय कार्यान्वयनको क्रममा संशोधन आवश्यक रहेको बताउनुभयो ।

प्रदेश ऐन सङ्ग्रहको पहिलो खण्डमा प्रदेशस्तरका आयोग÷निकाय, आन्तरिक प्रशासन, सुशासन, प्रदेश सभा, स्थानीय तह, शान्ति सुरक्षा, सञ्चार, न्याय प्रशासनसँग सम्वन्धित ऐनहरु समावेश छ ।

यसैगरी दोस्रो खण्डमा राजश्व, आर्थिक प्रशासन,यातायात,जलस्रोत उर्जा तथा भौतिक पूर्वाधारसँग सम्वन्धित कानून, तेस्रो खण्डमा उद्योग वाणिज्य,पर्यटन,वन वातावरण,विज्ञान प्रविधि,खाद्य,कृषि,सहकारी र भूमिसँग सम्वन्धित कानून छन् ।

चौथो खण्डमा शिक्षा,स्वास्थ्य,खेलकूद,महिला,बालबालिका,समाज कल्याण तथा संस्कृतिसँग सम्वन्धित विषय छन् ।

Comments
Loading...