गण्डकी प्रदेशमा पहिलो चौमासिकमा पशुपन्क्षीतर्फका अधिकाँस योजना अधुरा

हिमाली आवाज । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय मातहतका कार्यालयहरुले पहिलो चौमासिकमा आशातित उपलव्धी हासिल गर्न सकेनन् ।

निर्देशनालयले आज पोखरामा आयोजना गरेको आर्थिक वर्ष २०७७÷०७८ को पहिलो चौमासिकको प्रगति समीक्षा गोष्ठीमा कोरोना कहर लगायत विविध कारणले लक्ष्य अनुसार कार्यक्रम सम्पन्न नभएको सहभागिहरुले बताए ।

निर्देशनालय सहित जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगायत मातहतका कार्यालयले पहिलो चौमासिकमा तोकिएको बजेट तथा कार्यक्रम सम्पन्न गर्न नसकेका हुन् ।

कतिपय कार्यालयले स्वीकृत कार्यक्रम कार्यान्वयनका लागि प्रक्रिया अघि बढाएको तथा अनुगमन लगायतका काम बाँकी रहेकाले समेत लक्ष्य हासिल नभएको बताए ।

प्रदेशका ११ वटै जिल्लामा भेटेरिनरीतर्फका कार्यालय तथा जनशक्ति नहुँदा समेत कार्यक्रम कार्यान्वयनमा कठिनाई भएको जनाएका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोर्खाले सबैभन्दा बढी ७८ प्रतिशत भारित प्रगति हासिल गरेकामा सवैभन्दा कम मत्स्य विकास केन्द्र मिर्मीको १९ प्रतिशतमात्र छ ।

वित्तिय प्रगतितर्फ पहिलो चौमासिकमा पशु सेवा तालिम केन्द्रको ३० प्रतिशत रहेकामा कम भेटेरिनरी अस्पताल तनहुँको ११ प्रतिशत मात्र छ ।
पहिलो चौमासिकमा पशुपन्क्षी विकास निर्देशनालयको वित्तिय प्रगति २८ प्रतिशत छ ।

गण्डकी प्रदेशमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले समिक्षा गोष्ठीको उद्घाटन गर्दै वार्षिक योजना तथा कार्यक्रम कार्यान्वयनका लागि सबै कार्यालयबाट मिहिनेत आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव सवनम सिवाकोटी, निर्देशनालयका निर्देशक डा मनबहादुर पुन, कृषि विकास निर्देशनालयका निर्देशक निलकण्ठ पोखरेलल लगायतले पहिलो चौमासिकको अनुभवबाट आगामी दिनमा प्रभावकारी कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भेटेरिनरी अस्पताल तनहुँबाट डा बालकुमार श्रेष्ठ, बाग्लुङका प्रमुख शम्भु पाण्डे, लमजुङबाट डा रुपेश श्रेष्ठ,कास्कीका प्रमुख डा शोभा शर्मा, स्याङ्जाका भेटेरिनरी कार्यालय प्रमुख डा बज्रकिशोर ठाकुर,पशु सेवा तालिम केन्द्रका प्रमुख डा.दीर्घनाथ ढुँगाना लगायतले प्रगति विवरण प्रस्तुत गर्नुभएको निर्देशनालयका पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Comments
Loading...