देशका ७७ वटै जिल्लामा मापदण्ड विपरीतका क्रसर बन्द गर्न निर्देशन

काठमाडौँ । सरकारले क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा कडाइ गरेको छ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दुई साताअघि परिपत्र गरी मापदण्डविपरीतका क्रसर बन्द गर्न निर्देशन दिएको थियो। त्यहीअनुरूप विभिन्न जिल्लामा स्थानीय प्रशासनले अनुगमन गरी काम गरिरहेका छन्।

गृहका प्रवक्ता चक्रबहादुर बुढाले दर्तै नगरी सञ्चालन गरिरहेका, बस्तीलाई असर गर्ने क्रसर तत्काल बन्द गराउन निर्देशन दिइएको जानकारी दिनुभयो । नदीजन्य पदार्थको उत्खनन नियन्त्रणमा गृह, संघीय मामिला, वन, ऊर्जा र उद्योग मन्त्रालय जोडिएका छन्।

यिनै मन्त्रालयसम्बद्ध मन्त्रीहरू सम्मिलित बैठकले दुई साताअघि तत्काल मापदण्डविपरीतका क्रसर बन्द गर्न लगाउने निर्णय गरेको थियो। ठेक्का लगाउने, कर लिने र क्रसर उद्योग सञ्चालन अनुमति दिने काम संघीय मामिला मन्त्रालयले गर्दै आएको छ। मापदण्डअनुसार घना बस्ती र वन क्षेत्रको दुई किलोमिटरभित्रको दूरीमा बालुवा, ढुंगा र गिट्टी निकाल्न पाइँदैन।

राजमार्गबाट ५ सय मिटर, सडक पुल तथा झोलुंगे पुलबाट एक किलोमिटर तल र ५ सय मिटरमाथि नदीजन्य पदार्थ उत्खनन गर्न पाइनेछैन । कास्कीमा पनि स्थानीय प्रशासन तथा जिल्लास्तरीय अनुगमन समितिले अनुगमन शुरु गरेको छ । हालसम्म अनुगमन गरिएका एक दजर्न क्रसर उद्योग कुनैले पनि मापदण्ड पालना नगरेको पाइएको छ ।

Comments
Loading...