कास्कीमा अव ट्राफिक जरिवाना सिधै बैँकमा जम्मा गर्नुपर्ने

हिमाली आवाज । ट्राफिक जरिवाना बैँङ्क मार्फत सिधै खातामा जम्मा गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बैँङ्क काउण्टर सञ्चालनमा ल्याइएको छ ।

ग्लोबल आइएमई बैँङ्कसँगको सहकार्यमा पोखरा महानगरपालिका–९ नयाँबजारस्थित ट्राफिक कार्यालयको भवनमा आजदेखी सञ्चालनमा ल्याएको काउण्टरको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो ।

जिल्ला भित्र ट्राफिक व्यवस्थापन गर्ने क्रममा सवारी नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारवाही गर्ने सिलसिलामा सवारी नियम उल्लङ्घन बापत जरिवाना रकम बैंकिङ प्रणाली मार्फत सिधै ‘जरिवाना रकम राजश्व खातामा’ जम्मा गरिने ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष रोकाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कारवाहीमा परेका सवारी चालकले जरिवाना रकम उल्लेखित रसिद लिई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको तल्लो तलामा रहेको काउन्टरमा गई राजस्व दाखिला गराउनु पर्नेछ ।

बैँङ्क काउण्टर स्थापनापछि ट्राफिक कामकारवाहीलाई सहज छिटो छरितो र पारदर्शी तरिकाले सञ्चालनका लागि सहयोग पुग्ने प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

Comments
Loading...