भरतपोखरीका ज्येष्ठ नागरिकलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण

हिमाली आवाज । पोखरा महानगरपालिका–३३,साविक भरतपोखरीको वडा नं ५,६,७,८ र ९ का ६५ बर्ष नाघेका २ सय २६ ज्येष्ठ नागरिकहरुलाइ न्यायो कपडा र स्वास्थ्य सुरक्षा सामग्री वितरण गरियो ।

कोरोना भाइरसको संक्रमण र जाडो मौसमबाट वृद्ध तथा ज्येष्ठ नागरिक हरुलाई सुरक्षाका निम्ति न्यानो टोपी,पन्जा,मोजा,गलबन्दी,हात धुने झोल साबुनथान,चार्जर लाइट साथै न्यूट्रिसियस फुड पनि वितरण गरिएको हो । सुरक्षा सामाग्री पाउँदा ज्येष्ठ नागरिकहरुको अनुहारमा खुसी छाएको थियो ।
यूनएफपीएको आर्थिक सहयोगमा नेपाल युवा संस्था सञ्जाल(आयोन)ले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले ती सामग्री वितरण गर्नुभएको थियो ।

सो अवसरमा उहाँले भन्नुभयो,“आँफू पनि अव केहि बर्ष पछि ज्येष्ठ नागरिक बन्ने हुनाले अब बचेको आफ्नो सभासद कार्यकालको आम्दानी ज्येष्ठ नागरिकको हक र हितको लागि खर्चिने छु ।”

सोही वडाका वडाध्यक्ष शिवप्रसाद आचार्यले ज्येष्ठ नागरिकहरुको सुरक्षाका लागि बाँडिएका सुरक्षा सामाग्री राम्रो सँग प्रयोग गर्न र ज्येष्ठ नागरिकहरुले आँफुले पनि जाने सम्मका सुरक्षाका उपायहरु अवलम्वन गर्न आग्रह गर्नुभयो ।

आयोनले बिगत १४ बर्ष देखि नेपाल युवाहरुको क्षेत्रमा काम गर्ने संस्था भए पनि यो बर्ष देखि ज्येष्ठ नागरिकहरुको लागी पनि काम गर्न थालेको आयोनका सचिव सञ्जयकुमार कुमार कुसुहाले बताउनुभयो ।

बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको सहकार्य भएको उक्त कार्यक्रममा चौतारीका उपाध्यक्ष केशवराज लम्साल,ज्येष्ठ नागरिक महासँघ गण्डकी प्रदेश प्रमुख कुशुम केशब पराजुली लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।

बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीका संस्थापक अध्यक्ष भुपतिश्वर लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाका सचिव मोती भुजेलले सञ्चालन गर्नुभएको थियो ।

 

Comments
Loading...