पोखरामा उपचारका क्रममा चार कोरोना संक्रमितको मृत्यु

हिमाली आवाज । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखराका विभिन्न अस्पतालमा उपचाररत रहेका क्रममा निधन भएका चार संक्रमित मध्येमा दुई जना कास्कीका र तनहुँ र लमजुङका एक÷एक जना छन् ।

पोखरा–१५ का ५२ वर्षीय संक्रमित पुरुष तथा पोखरा–१० का ६९वर्षीय पुरुषको शुक्रबार साँझ गण्डकी मेडिकल कलेजमा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसैगरी तनहुुँको रिसिङ गाउँपालिका ८ की ७८ वर्षीया संक्रमित महिलाको हिजो साँझ ७ बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

लमजुङको मध्य नेपाल नगरपालिका–६ का ८५ वर्षीय संक्रमित पुरुषको आज दिउँसो उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको जनाइएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५२ पुगेको छ ।

Comments
Loading...