आठ महिनापछि पोखरामा शुरु भयो खेलकूूद अभ्यास तथा प्रशिक्षण

हिमाली आवाज । कोरोना कहरका कारण गत चैत १० देखी बन्द भएका रङ्गशाला तथा खेलकूद गतिविधि पुनः सुचारु गर्ने सरकारको निर्णयपछि पोखरा रङ्गशालामा पनि खेल अभ्यास तथा प्रशिक्षण शुरु भएको छ ।

आठ महिना बन्द भएको रङ्गशाला खुलाउन सरकारले निर्देशन दिएपछि खेलकूद शहरको रुपमा स्थापित पोखरामा खेल गतिविधि शुरु भएको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताउनुभयो । सरकारले गत मङ्सिर १ पछि खेलगतिविधि शुरु गर्ने निर्णय गरेको थियो ।
रङ्गशाला तथा खेलकूद प्रशिक्षण स्थलहरु लामो समयसम्म बन्द हुँदा खेलाडी तथा प्रशिक्षक अभ्यासबाट बञ्चित भएका थिए ।फुटबल, भलिबल, व्याडमिन्टन,बास्केटबल, स्क्वास, क्रिकेट, टेनिस, बक्सिङ, कराँते लगायतका खेलका खेलाडीहरु अभ्यासका लागि रङ्गशाला आउन थालेको उहाँले भनाई छ ।

यसैगरी पोखरामा नीजि क्षेत्रबाट सञ्चालित शारीरिक अभ्यास स्थलहरु(जीम सेन्टर ), फुटसलहरु पनि सञ्चालनमा आएपछि खेल गतिविधि सामान्यीकरण हुँदै गएको बताइन्छ ।

कार्यालय प्रमुख बरालले भन्नुभयो,“सरकारले निर्देशनपछि तिहार लगत्तै हामीले बन्द रङ्गशाला खेलाडी तथा प्रशिक्षकहरुलाई अभ्यासका लागि खुला गरेका छौँ । अझपनि कोरोना त्रास कायमै रहेकाले साविकमा जस्तो अवस्था नरहेपनि विस्तारै सामान्यीकरण हुँदै गएको छ , सबै खेलका २५ प्रतिशत हाराहारीमा अभ्यास गतिविधिहरु सञ्चालित छन् ।”

health

रङ्गशालामा स्वास्थ्य सुरक्षा मापदण्डको पालनाका लागि सबै खेल सङ्घ, खेलाडी तथा प्रशिक्षकलाई आग्रह गरिएको समितिले जनाएको छ । स्वास्थ्य सुरक्षा मापदण्डको पालनालाई पहिलो शर्त बनाइएको बताइन्छ ।

पोखरा रङ्गशालाभित्र मुख्य मुख्य खेलका पूर्वाधार छन् । देशकै सबैभन्दा ठूलो निर्माणाधीन फुटबल रङ्गशालाको काम अन्तिम चरणमा पुगेको छ । फुटबल रङ्गशालासँगै बैकल्पिक फुटबल मैदान पनि बन्दाबन्दीकै अवधिमा निर्माण सम्पन्न गरिएको हो ।

भलिबल,टेनिस,व्याडमिन्टन,बास्केटबल र आर्चरी खेलका पूर्वाधार तथा बहुउद्धेश्शीय कभर्ड हल रङ्गशालाभित्र छ । एकै थलोमा अधिकाँस खेलका पूर्वाधार रहेकाले रङ्गशलाभित्र भीडभाड बाक्लै हुने गर्दछ । क्रिकेट मैदान तयारी तयार रहेपनि पूर्वाधार बनाउन बाँकी छ ।

वर्षभरीनै खेलकूदका प्रतियोगिताहरु भइरहने रङ्गशालाभित्र कोरोनापछि खेलकूद प्रतियोगिता ठप्प छन् । लामो समयपछि बन्द रङ्गशाला खुुलेको र अभ्यास शुरु भएकाले विस्तारै प्रतियोगिता समेत सञ्चालन हुने विश्वास खेलकर्मीको छ ।

व्यायाम व्यवसायी सङ्घका सचिव बलराम सुवेदीले लामो बन्दाबन्दीका कारण ठप्प जीम सेन्टरहरु सञ्चालनमा आएको बताउँदै विस्तारै खेलाडीहरु अभ्यासमा सहभागी हुन शुरु गरेको बताउनुभयो । जिल्लामा ३५ वटा व्यायाम सेन्टरहरु सञ्चालनमा छन् ।

टिप्पणिहरु
Loading...