पोखरा महानगरको सेवा आजदेखी सञ्चालनमा

हिमाली आवाज । पोखरा महानगरपालिका कार्यालयको सेवा आजदेखी सञ्चालनमा आएको छ ।

महानगरमा कार्यरत २७ जना जति कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गत मङ्सिर ५ देखी अत्यावश्यक बाहेकको सेवा बन्द गरिएकामा आजदेखी सेवा प्रवाह नियमित सञ्चालनमा आउने महानगरका प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष धनबहादुर नेपालीले बताउनुभयो ।
महानगरले यसअघि सूचना जारी गरी धेरै कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र एक तिहाई कर्मचारीबाटमात्र सेवा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको भन्दै मङ्सिर ५ देखी १२ सम्म अत्यावश्यक बाहेकको सेवा बन्द गर्ने जनाएको थियो ।

प्रवक्ता नेपालीले महानगर तथा बन्द भनेर सूचना भएका बाहेक अन्य वडा कार्यालयबाट प्रवाह हुने सेवा नियमित रुपमा सञ्चालन हुने बताउनुभयो ।

महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ लगायत विभिन्न महाशाखा प्रमुख लगायतका कर्मचारी कोरोना सङ्क्रमित भएपछि भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरको सेवा प्रवाह बन्द भएको थियो ।

Comments
Loading...