‘संघीयतालाई संस्थागत गर्ने जिम्मेवारी स्थानीय तहको’

हिमाली आवाज । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोलीलाई सोमबार पोखरामा स्वागत गर्दै मेयर जिसीले स्थानीय निकाय र स्थानीय तह फरक भएकाले संघियतालाई संस्थागत गर्न स्थानीय सरकारको जिम्मेवारी बढी हुने बताउनुभएको हो ।

व्यवस्था परिर्वतन भएपनि सोच परिर्वतन नहुँदा काम गर्दा चुनौतिहरु आउने गरेको बताउँदै संघीय व्यवस्थालाई लागू गराउन स्थानीय तहका जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई छ ।

‘काठमाडौं र पोखराका आ—आफ्नै विशेषता छन्’, जिसीले भन्नुभयो ,‘ काठमाडौं सांस्कृतिक सहर हो भने पोखरा प्राकृतिक रुपमा सुन्दर छ, एक अर्काबाट हामीले धेरै कुरा सिक्न र सिकाउन सक्छौं ।’

काठमाडौं—पोखरा जोड्ने सडक चार लेनको हुनुपर्ने बताउँदै जिसीले दुबै सहरले पर्यटनलाई विशेष प्राथमिकता दिनुपर्ने र यसमा समन्वय गर्नुपर्ने बताउँदै पोखराको भौगोलिक विशेषता अनुसार नै विकास र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको सो अवसरमा जिसीले बताउनुभयो ।

कार्यक्रममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अनियन्त्रित बसाईंसाइ काठमाडौ र पोखराको चुनौति भएको बताउँदै स्थानीय तहबीचमा पनि समन्वय र अनुभव आदान प्रदान हुनुपर्नेमा जोड दिनुभयो । काठमाडौं अहिलेको अवस्थाबाट पाठ सिकेर पोखराले बसोबासलाई व्यवस्थित गर्न एकीकृत बस्ती विकासमा जोड दिन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा काठमाडौं महानगरका उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौ र पोखरासहित देशमै पर्यटनलाई चलायमान बनाउन प्रदेश र संघीय सरकारले पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराले स्वागत र कार्यक्रमको सञ्चालन महानगरका प्रवक्ता धनबहादुर नेपालीले गर्नुभएको थियो ।

Comments
Loading...