मादी गाउँपालिकामा १५ श्ययाको अस्पताल शिलान्यास,दुई पुल उद्घाटन

हिमाली आवाज । कास्कीको मादी गाउँपालिकामा आज १५ श्ययाको अस्पताल भवनको शिलान्यास गरिएको छ । यसैगरी एक पक्की मोटरेवल पुल तथा अर्को ट्रष्ट पुलको आजै उद्घाटन गरियो ।

मादी–७ को तल्लो छाचोक(खन्टारी)मा १० रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने अस्पतालको प्रतिनिधिसभाका सांसद एवं पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले शिलान्यास गर्नुभएको हो ।

नेपाल सरकारको देशका ३९६ स्थानीय तहमा अस्पताल बनाउने योजना अवस्थित भौगोलिक रुपमा विकट मादीमा सुविधासम्पन्न अस्पतालका लागि भवन निर्माण कार्यको शिलान्यास गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)ले बताउनुभयो ।

अस्पताल बनेसँगै मादीको उत्तरी भेगका वडा नं १,२,३,४,५,६ र ७ नं वडाका नागरिक प्रत्यक्ष लाभान्वित हुने गाउँपालिकाले जनाएको छ ।
अस्पताल निर्माणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट रु तीन करोड २३ लाख बजेटको अख्तियारी गाउँपालिकालाई आइसकेको बताइन्छ ।

बहुवर्षीय योजना अन्तर्गत निर्माण हुने सो अस्पपतालका लागि रु १८ करोड ३२ लाख बजेट तय गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । अस्पतालको विस्तृत आयोजना प्रतिवेदन(डिपिआर), डिजाइन तथा बोलपत्र आह्वान लगायतका काम छिट्टै अघि बढाईने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका रहेको थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट हाल प्रवाह भइरहेको सेवाबाट उत्तरी भेगका जनतालाई पायक नपर्ने र सामान्य बिरामी पर्दा समेत पोखरा जानुपर्ने बाध्यता अस्पताल बनेपछि हट्ने विश्वास लिइएको छ ।

विकासमा फराकिलो सोच आवश्यक : सांसद अधिकारी
अस्पताल भवनको शिलान्यास तथा मोटरेवल पुल उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले कोरोना भाइरसको महामारीपछि सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर देशभरका अस्पतालमा स्वास्थ्य उपकरण तथा क्षमता वृद्धि तथा नयाँ संरचना निर्माण शुरु गरेको बताउनुभयो ।

संसारभरको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसारका स्वास्थ्य सेवा गाउँ गाउँमा उपलव्ध गराउन सरकार प्रतिवद्ध रहेको बताउँदै उहाँले भन्नुभयो,“ अब कोही पनि नागरिक उपचार सुविधा नपाएर मर्न प्रदैन । केही समयमै आफ्नै घर गाउँमा विशेषज्ञता हासिल गरेका चिकित्सकहरुले नागरिकको सेवा गर्नेछन् ।”

सरकारले सरकारी सुविधा तथा छात्रवृत्तिमा एमडी पढेका चिकित्सकहरुले कम्तिमा पनि दुई वर्ष दुर्गम क्षेत्रमा रहेर सेवा गर्नुपर्ने व्यवस्था गरेकाले समेत विशेषज्ञ चिकित्सकको अभाव नहुले उहाँले स्पष्ट पार्नुभयो ।

विकास निर्माण प्रक्रिया अघि बढाउँदा ठाउँ ठाउँमा विभिन्न अवरोध सिर्जना गर्ने र रोक्ने काम भएको बताउँदै सांसद अधिकारीले फराकिलो सोच राखे मात्र विकासले सार्थकता पाउने उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङले सङ्घ तथा प्रदेश सरकारसँगको समन्वयमा अस्पताल निर्माणपछि गुणस्तरीय सेवा प्रवाहका लागि आफू लागि पर्ने प्रतिवद्धता व्यक्त गर्दै विकासमा पछि परेको मादीमा विजयपुर र ज्याउदुमा पक्की मोटरेवल पुल निर्माणपछि सहज भएको बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले विगतमा चार÷पाँच वर्षमा एउटा पुलको योजना पर्दा समेत गौरव गर्नुपर्ने क्षण रहेको स्मरण गर्दै हाल एकै दिनमा तीन वटासम्म पुल शिलान्यास गरिएको उल्लेख गर्नुभयो ।

मध्यपहाडी लोकमार्ग, विभिन्न स्थानमा पक्की मोटरेवल पुल तथा छ वडा कार्यालय भवन निर्माण भएको बताउँदै उहाँले मादीमा विकासको दियो बलेको र अब केही समयभित्रमा धपक्क बल्ने उल्लेख गर्नुभयो ।

गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले राजमार्ग सहितको विकास मादीमा शुरु भएको बताउँदै अस्पताल शिलान्यास तथा पुल उद्घाटन गाउँपालिकाका लागि ‘टर्निङ प्वाइन्ट’ भएको उल्लेख गर्नुभयो । माथिल्लो गाउँ क्षेत्रलाई जोड्ने आफूहरुको सपना ज्याउदु मादी पुलले पूरा गरेको बताउँदै अध्यक्ष गुरुङले विकटतालाई निकटर छुट्टिएको गाउँलाई नजिक ल्याएकामा खुःशी व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका क्षेत्रीय सचिव एवं गाउँपालिकाका लेखा समिति संयोजक सरोज केसीले समृद्ध नेपाल निर्माणमा सबैको साथ र सहकार्य आवश्यक रहेको बताउँदै सबै पक्षलाई साथमा लिएर विकासका काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष पसबहादुर बास्तोला, नेकपा जिल्ला सदस्य वुद्धिसागर सापकोटा, नेकपा मादीका सचिव बालकृष्ण गुरुङ,पूर्वाधार विकास कार्यालयका कास्कीका इन्जिीनियर गुरुद्धत्त अधिकारी लगायतले मादीमा विकासले तीव्रता लिएको उल्लेख गर्नुभएको थियो ।

मादी वडा नं ७ र ३ जोड्ने गरी मादी नदीमाथि रु आठ करोड छ लाख लागतमा निर्माण गरिएको पक्की मोटरेवल पुल र थाकखोला सवि ट्रष्ट पुलको प्रतिनिधिसभा सांसद अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा अस्पतालका लागि जमिन उपलव्ध गराउने जग्गादाता तथा ज्याउदु पुल निर्माणका जग्गादाताहरुलाई दोसल्लाबाट सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिनुभयो ।

Comments
Loading...