अपाङ्गता भएका व्यक्तिको अन्तरराष्ट्रिय दिवसमा गण्डकीमा साताव्यापी कार्यक्रम

हिमाली आवाज ।  अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तरराष्ट्रिय दिवस गण्डकी प्रदेशमा साताव्यापी विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकारका सवालहरुलाई विश्वव्यापी रुपमा उजागर गर्न र विश्व समुदायको ध्यान केन्द्रीत गर्न हरेक वर्ष डिसेम्वर ३ तारिखमा मनाइने यस दिवसमा यस वर्ष ‘कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितताःअपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासका लागि हामी सबैको प्रतिवद्धता’ नारा तय गरिएको छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी प्रदेशले आज पोखरामा संयुक्त पत्रकार सम्मेलन आयोजना गरी दिवसका अवसरमा मङ्सिर १७ देखी २२ सम्म भर्चुअल तथा भौतिक उपस्थिति सहितका विभिन्न कार्यक्रम आयोजना गरिने जनाएको छ ।

महासङ्घका अध्यक्ष खोमराज शर्माले गण्डकी प्रदेशमा कोभिड–१९ ले अपाङ्गता भएका व्यक्तिहरुमा पारेको प्रभावका बारेमा सरोकारभएकाहरु लगायतसँग अन्तरक्रिया, स्थानीय तहहरुसँग अपाङ्गताको सवालमा छलफल तथा अपाङ्गता भएका महिलाहरुमाथि हुने हिँसा र न्यायमा पहुँच अभिवृद्धिका विषयमा अन्तरक्रियामूलक कार्यक्रम हुने जानकारी दिनुभयो ।

कोभिड–१९ को महामारीका कारणले केही सानो तिनो रोजगारी गर्दै आएका ४० प्रतिशत अपाङ्गता भएका व्यक्तिले पूूरै रोजगारी र आयस्रोत गुमाएको महासङ्घले जनाएको छ ।

यसैगरी कोरोना र यसको सङ्क्रमणबाट कसरी बच्ने भन्ने विषयमा सूचनाहरु ६० प्रतिशत व्यक्तिमा नपुगेको तथा यसबीचमा ४५ प्रतिशतभन्दा बढीले पाउँदै आएको आधारभूत र अत्यावश्यक स्वास्थ्य सेवाबाट बञ्चित भएको जनाइएको छ ।

विसं २०६८ को जनगणना अनुसार प्रदेशमा ५७ हजार अपाङ्गता भएका व्यक्तिहरु रहेकामा एक दशकको अवधिमा यो सङ्ख्या दोव्वरले बढेको बताइन्छ ।

महासङ्घले अपाङ्गता भएका व्यक्तिका लागि नीति निर्माणमा सङ्घीय र गण्डकी प्रदेश सरकारले गरेको प्रयासहरु सहनीय र प्रगतिशिल रहेपनि कार्यान्वयन पक्ष कमजोर र दुःख लाग्दो रहेकाले अपाङ्गताभएका  व्यक्तिलाई सेवा प्रदान गर्न स्थानीय पालिकाहरुलाई ज्ञान,सीप,मानवस्रोत र प्रविधिबाट सम्पन्न बनाउन माग गरेको छ ।

गण्डकी प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा  प्रमुख जमुना पौडेलले अपाङ्गता भएकाहरुको अधिकार सुनिश्चितताका लागि सरकार साथमा रहेको स्पष्ट पार्नुभयो ।

 सभाहल नदिइएकामा गुनासो

महासंघका अध्यक्ष खोमराज शर्माले पत्रकार सम्मेलनका लागि सामाजिक विकास मन्त्रालयले आफूहरुको पूर्व निर्धारित कार्यक्रमका हल नदिएको भन्दै दुःखेसो पोख्नुभएको छ ।

सहमतिमै दिउसो ३ बजेका लागि तय भएको कार्यक्रमका लागि हल आधा घण्टा कुर्दा समेत खाली नभएपछि मन्त्रालयको पार्किङ क्षेत्रमानै कार्यक्रम गरिएको थियो ।

“पूर्व निर्धारित कार्यक्रम भएपनि हामीले मन्त्रालयको सभाहल प्रयोग गर्न पाएनौँ । यसले पनि पुष्टि गर्दछ अपांगता भएकाहरुप्रति सरकार कति पूर्वाग्रही छ भन्ने कुरा । यसप्रति हामी खेद व्यक्त गर्दछौँ ।” उहाँले भन्नुभयो ।

Comments
Loading...