घनश्याम लामिछानेको निर्देशनमा “तिमीलाई पर्खी बसे..”म्युजिक भिडियो सार्वजनिक

हिमाली आवाज । चलचित्र निर्देशक घनश्याम लामिछानेको निर्देशनमा एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार पोखरामा पत्रकार सम्मलेनको आयोजना गर्दै म्युजिक भिडियोे सार्वजनिक गरिएको हो । रामकृष्ण ढकालको आवाज, गीतकार विष्णु पौडेलको शब्द र बिमल डाँगीको संगीत रहेको गीत “तिमीलाई पर्खी बसे..” सार्वजनिक भएको हो ।

चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निर्देशक लामिछानेले गीतको म्युजिक भिडियोमा सच्चा प्रेमीको कथालाई प्रस्तुत गर्न खोजिएको बताउनुभयो । तीन दिन लगाएर पोखराको सराङकोट र लेकसाइडमा छायांकन गरिएको म्युजिक भिडियोमा शिव वाग्ले र जानकी थापाको अभिनय रहेको छ ।

श्याम शुक्ला फिल्म प्रोडक्सनबाट निर्माण भएको म्युजिक भिडियोमा अभिनयको अनुभव साट्दै शिव वाग्लेले घनश्याम लामिछानेको टीमसँग काम गर्न सहज भएका कारण आफूले निर्देशकमा लामिछानेलाई रोजेको बताउनुभयो ।१५ वर्ष अगाडि एउटा म्युजिक भिडियोमा अभिनय गर्नुभएको वाग्लेको यो दोस्रो म्युजिक भिडियो हो । लकडाउनका बेला आफूलाई अभिनयमा फेरि ब्युतिने इच्छा जागेको उहाँले बताउनुभयो ।

यस्तै, पहिलो म्युजिक भिडियो मार्फत अभिनयमा हाम फाल्नु भएका जानकी थापा लामिछानेको निर्देशनमा बनेको म्युजिक भिडियोलाई अवसरको रुपमा लिनुहुन्छ । “मोडलिङ र अभिनयमा पहिले देखिको इच्छा भएता पनि समय जुरेको थिएन”, उहाँले भन्नुभयो,“हाल आएर समय मिलेको छ, अब यसैमा लाग्ने सोच बनाएकी छु ।”

म्युजिक भिडियो कन्सेप्ट लामिछानेकै हो । जीवन थापाले सम्पादन गरेको म्युजिक भिडियोमा अतिथि कलाकारको भूमिका देशभक्त सिंह कुँवरले निर्वाह गर्नुभएको छ । भिडियोमा प्रकाश व्यवस्थापन अमृत थापा मगर र गोपाल भट्टराईको छ । गीतलाई श्याम शुक्ला फिल्म प्रोडक्सनकै अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सह—सचिव सन्तोष बस्यालले गर्नुभएको थियो ।

Comments
Loading...