मध्यपहाडी राजमार्ग : पोखरा महानगर खण्डमा नयाँ रेखाङ्कन हुने

–कृष्ण दवाडी
हिमाली आवाज । राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल(मध्यपहाडी) राजमार्गको पोखरा महानगर खण्डमा नयाँ रेखाङ्कन(एलाइनमेन्ट)को सम्भाव्ता अध्ययन शुरु गरिएको छ ।

कास्की र लमजुङको सीमा रुदीदोभानदेखी कास्कीको पूर्वी क्षेत्र मादी गाउँपालिकाको भैँसेसम्मको १६ किमी सडक खण्डमा हालै टेण्डर आह्वान भएपनि त्यसयताको एलाइनमेन्ट टुङ्गो लागेको छैन ।

पोखरा खण्डमा पहिलाको एलाइनमेन्ट परिर्वतन गर्न माग भएपछि मध्यपहाडी राजमार्ग आयोजनाले महानगरमा नयाँ रेखाङ्कनको प्राविधिक सम्भाव्ता अध्ययन शुरु गरेको हो ।

भैँसेबाट राजमार्ग कुन बाटो हुँदै पोखरा बाग्लुङ राजमार्गको याम्दी जोड्ने भनेर प्रदेश सरकार, पोखरा महानगर तथा मध्यपहाडी राजमार्ग आयोजना कार्यालयले दुई÷तीन वटा सम्भावित रेखाङ्कनको अध्ययन गरेको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख एवं डिभिजनल इन्जिीनियर मेघराज मरासिनीले बताउनुभयो ।

पहिलाको डिजाइन अनुसार राजमार्ग विस्तार गर्दा पोखरा बजार क्षेत्रमा ठूलो सङ्ख्यामा घरहरु विस्थापित हुनेभएपछि महानगरले माथिल्लो भेगहुँदै एलाइनमेन्ट परिर्वतन गर्न माग गरेको हो । मादी गाउँपालिकाले आफ्नो धेरै वडाहरु समेट्ने गरी माथिल्लो क्षेत्रहुँदै राजमार्ग लैजानुपर्ने बताएको छ ।

गाउँपालिकाले मध्यपहाडी राजमार्गलाई गाउँपालिकाको भैँसेबाट विस्तार गरी ज्याउदु, सबी, मेलबोट,पानीघाट हुँदै पोखरा महानगर पालिका–२० को मौजामा जोड्ने गरी राजमार्गको एलाइनमेन्ट थप गर्न कार्यपालिका बैठकबाटै राजमार्ग आयोजना निर्देशनालयलाई सिफारिस गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले बताउनुभयो ।

आयोजना प्रमुख मरासिनीले केहीदिनअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल तथा प्रधानमन्त्रीका पूर्वाधार विकास विज्ञ लगायतले आयोजनाको स्थलगत अध्ययनका क्रममा पोखरा खण्डमा विकल्प खोज्नुपर्ने बताएपछि आफूहरुले राजमार्गको नयाँ सम्भाव्ता अध्ययन अघि बढाएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“विजयपुरयता सडक अघि बढाउन समस्या रहेकाले हामीले विकल्पको अध्ययन शुरु गरेका छौँ, जनताका लागि बनाउने सडकले जनताको उठीबास हुनुपर्ने अवस्था आउनु हुँदैन भन्नेमा छौँ । आर्थिक, प्राविधक र सामाजिक हिसावले उपयुक्त विकल्प छनोट गछौँ।”
आयोजनाले सम्भव भएको खण्डमा राजमार्गको डिजाइन परिर्वतन गर्न सकिने भएपनि स्थानीयस्तरमा सहमति आवश्यक पर्ने जनाएको छ ।

विगतको डिजाइन अनुसार राजमार्ग भैँसेबाट विजयपुर, पोखराको वडा नं १३ बाँझापाटन, काहुँखोला, काहुँ भञ्ज्याङ, मणिपाल अस्पतालको पछाडी,भलाम,बाटुलेचौर हुँदै याम्दी लैजादा राजमार्गबाट थुप्रैबस्ती र घरहरु विस्थापित हुने र मुआव्जा वितरणमा ठूलो धनराशी खर्च हुने भएकाले राजमार्ग ग्रामीण पहाडी भुगोल हुँदै लैजाने योजनामा पोखरा महानगर छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, महानगर प्रमुख मानबहादुर जिसी, आयोजना प्रमुख मरासिनी लगायतको टोलीले बुधबार महानगरको सम्भावित क्षेत्रको स्थलगत अध्ययन गरेको थियो ।

मुख्यमन्त्री गुरुङले महानगरबाट राजमार्ग लैजादा पोखराको  माथिल्लो भेगबाट राजमार्ग लैजानुपर्ने बताउनुभयो । कास्कीको उत्तरी गाउँलाई राजमार्गले छोएर सो क्षेत्रलाई गुल्जार बनाउने र कृषि,पर्यटन,होमस्टेको विकास गरी गाउँको संरक्षण गर्ने र शहर झरेकाहरुलाई गाउँ फर्काउने अभियान शुरु गरिने मुख्यमन्त्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“हामीले भैँसेदेखी याम्दीसम्को रुट हरेका छौँ । भैँसेबाट याम्वोट, मोहोरिया, आँटीघर,अर्मला, अमलाविसौनी हुँदै याम्दी लैजानु उपयुक्त हुन्छ भन्ने लागेको छ । सबै वैकल्पिक बाटो हरेका छौँ, जुन बाटोबाट सबैभन्दा सजिलो र धेरै गाउँ समेटिने हुुन्छ त्यही अनुसार गर्नका लागि सहजीकरण गर्दछौँ।”

मध्यपहाडी राजमार्गले गण्डकी प्रदेशका पाँच जिल्लालाई समेट्दछ । गोर्खा,लमजुङ,कास्की,पर्वत र बाग्लुङखण्डमा गण्डकीमा प्रर्दछन् ।
मध्यपहाडीको कास्की खण्ड अन्तर्गत साविक पोखरा–बाग्लुङ राजमार्गमा भने तीन वर्षअघिबाटनै काम भइरहेको छ ।

पोखरा महानगरपालिका–२५ हेमजाको याम्दीदेखी माछापुच्छ«े गाउँपालिका–७ को घट्टेखोला खण्डमा हाल कालोपत्रेको काम धमाधम भइरहेको हो ।

Comments
Loading...