नेपालमा फास्ट ट्रयाकमा कोरोना खोप ल्याउने तयारी शुरु

काठमाडौँ । सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो । द्रुतकार्य योजनाका लागि आठवटा समिति गठन गरिएको छ । सरकारले खोप अभियान नै सञ्चालन गर्नेछ ।

स्वास्थ्यमन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार समितिले खोप आयात, भण्डारणदेखि वितरणलगायतका प्रक्रियाको कामलाई अघि बढाएको छ । उहाँले भन्नुभयो, ‘खोप व्यवस्थापन कसरी गर्ने ? जनचेतनादेखि तालिमलगायतका काम भइरहेका छन् । हामीसँग भण्डारण गर्न मिल्ने खोप प्राथमिकतामा पर्छ । हाम्रो जोड जतिसक्यो अनुदानमा खोप ल्याउने हो । त्यसका लागि कूटनीतिक प्रयास भइरहेको छ ।’

खोप आयातमा सहजताका लागि औषधि अध्यादेशसमेत जारी भइसकेको छ । नेपालले कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने योजना बनाएको छ, जसमा कोभ्याक्स फ्यासिलिटीमार्फत २० प्रतिशतलाई प्राथमिकताका आधारमा निःशुल्क खोप लगाइनेछ । यो समाचार आजको राजधानी दैनिकमा समाचार छ ।

Comments
Loading...