सुन्तला उत्पादनमा कमि आएपछि कास्कीका किसान चिन्तित

हिमाली आवाज । कुनै बेला कास्की पोखराको सुन्तला भनी चासो र चर्चा कमाएको यहाँको सुन्तला खेती पछिल्लो एक दशकयता सुस्ताएको छ ।सिक्टस ग्रिनीङ भाइरसको मारमा जिल्लाका भरतपोखरी, हंशपुरलगायतका स्थानमा सखापै भएको सुन्तला निर्मलपोखरीका दोपहरे, खरच्याङ, फेदीपाटनलगायतका स्थानमा भने अझै फल्दै गरेको छ ।

विगतका वर्षमा यी स्थानामा पहेँलपुर देखिने सुन्तला यस वर्षका लागि भने गत फागुन महिनामा फूल फुल्ने क्रममै असिनाले झारेपछि उत्पादनमा कमी आएको हो ।

सुन्तालाको कारण बर्सेनि राम्रो आम्दानी गर्दै आएका यहाँका किसान यस वर्ष भने उत्पादन घटेपछि चिन्तित बनेका छन् । अघिल्लो वर्ष सुन्तलाबाटै रु आठ लाख आम्दानी गरेका पोखरा महानगरपालिका(२१ फेदीपाटनका कृषक प्रकाश पौडल यस वर्ष भने उत्पादनमा कमी भई मुस्किलले रु एक लाख मात्रै आम्दानी गर्ने अवस्थामा पुगेको बताउनुहुन्छ ।

“असिनाले बोटमा फूलमात्र नभई अन्य क्षति पनि पुर्याएको थियो”, उहाँले भन्नुभयो, “यस वर्ष त्यस्तै भयो, अर्को वर्ष सुन्तला जोगिने आशमा छौँ ।” पौडेलले ४० रोपनी जग्गामा ६०० बोट सुन्तला लगाउनुभएको छ । आफ्नो बुबाको पालामा चार दशकअघिदेखि सुन्तला खेती गर्दै आएको जानकारी दिँदै पौडेलले यस अवधिमा पहिलोपटक यति कम मात्रामा सुन्तला उत्पादन भएको बताउनुभयो ।

धान फल्ने खेतमा सुन्तला लगाइएको बताउँदै उहाँले यस वर्ष सुन्तला पनि उत्पादन नहुँदा दैनिक जीविकोपार्जनमा समस्या आएको उल्लेख गर्नुभयो । क्षतिका सम्बन्धमा कृषि ज्ञान केन्द्रमा जानकारी गराएको भन्दै पौडेलले क्षतिका आधारमा राज्यबाट कृषकले क्षतिपूर्ति पाउने अपेक्षा गरेको बताउनुभयो ।

पौडेलजस्तै निर्मलपोखरी खरच्याङका अर्का सुन्तला कृषक टीकाराम भण्डारीको पनि उस्तै गुनासो छ । असिनाले फूल फुल्ने क्रममा नै झारेपछि यस वर्ष सुन्तलाबाट विगतमा जस्तो आम्दानी गर्न नसकिएको उहाँको भनाइ छ । अघिल्लो वर्ष आफूले खाएर र इष्टमित्रलाई चखाएर रु तीन लाख आम्दानी गरेको बताउँदै उहाँले भन्नुभयो, “यस वर्ष मुस्किलले रु ९० हजार मात्र आम्दानी भएको छ ।”

“भएका सुन्तलाका दाना पनि साना छन्, विगतमा जस्तो मिठो पनि छैन”, उहाँले भन्नुभयो, “कतै रोग लागेर समस्या छ, बचेका ठाउँमा पनि असिनाजन्य प्रकोपले समस्या पारेको छ ।” उत्तर तर्फबाट आएको असिनाले प्रत्येक रुखको उपल्लो भागमा पूर्णरूपमा क्षति बनाए पनि दक्षिणततर्फ तल्लो भागमा बचेखुचेका सुन्तलाले अलिअलि भने पनि आम्दानी भएको कृषक बताउँछन् ।

अन्य बालीमा असिनाले पारेको क्षति तत्काल देखिए पनि सुन्तलालगायतका फलफूलमा भने फल पाक्ने बेलामा मात्रै क्षतिको यकिन हुने भण्डारीले राससलाई जानकारी दिनुभयो । त्यस्तै अर्का कृषक नारायण पौडेल पनि यस वर्ष सुन्तलामा असिनाले ठूलै क्षति पुर्याएको बताउनुहुन्छ ।

उहाँका अनुसार अघिल्लो वर्ष बाँदरबाट सुन्तला जोगाउन हम्मेहम्मे परेको थियो, अहिले असिनाले मारमा परेको छ । पौडेलले अघिल्लो वर्ष सुन्तलाबाटै रु तीन लाख आम्दानी गर्नुभएको थियो । कृषकको पीडालाई राज्यले बुझ्न नसकेको बताउँदै कृषकले क्षतिका आधारमा उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने सामूहिक धारणा राखेका छन् ।

Comments
Loading...