आर्थिक अपारदर्शिताका गतिविधिहरु सह्य नहुने प्रहरी महानिरीक्षक थापाको चेतावनी

हिमाली आवाज । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी सङ्गठनले अङ्गीकार गरेका नीति तथा मुल्यमान्यता विपरितका कुनै पनि गतिविधि नगर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आज निरीक्षणपछि प्रदेश अन्तर्गतका ११ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै उहाँले आफ्नो निजी स्वार्थ सिद्ध गर्न गरिने जस्तोसुकै आर्थिक अपारदर्शिताका गतिविधिहरु सह्य नहुने स्पष्ट पार्नुभयो । उहाँले सबै प्रहरी कर्मचारीहरु सचेत रही पारदर्शिताको नमूना प्रर्दशन गर्न समेत आग्रह गर्नुभएको छ ।

महानिरीक्षक थापाले प्रहरी कर्मचारी आम नागरिकका पीडा तथा समस्याहरुको निदानकर्ता भएकाले कुनै पनि प्रहरी कर्मचारीको कारण आम नागरिकमा समग्र कानून एवं न्याय प्रणाली प्रतिनै निराशा उत्पन्न हुन नहुने बताउँदै कार्यदक्षताले भरिपूर्ण तथा चरित्रवान प्रहरी कर्मचारीका रुपमा आफूलाई कार्यक्षेत्रमा समर्पित गर्न निर्देशन दिनुभयो ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्यालले गण्डकी प्रदेश अन्तर्गतको शान्ति सुरक्षाको अवस्था, अपराधिक तथ्याङ्क विश्लेषण, प्रहरी परिचालन एवं जनशक्ति व्यवस्थापन, हालसम्म प्रदेश अन्तर्गत भएका उल्लेख्य गतिविधिहरु तथा प्रदेश प्रहरी कार्यालयको आगामी कार्ययोजना एवं रणनीतिहरुका विषयमा महानिरीक्षक थापा क्षेत्रीलाई जानकारी गराउनुभएको थियो ।

सो अवसरमा उहाँले महानिरीक्षक थापाबाट प्राप्त भएका निर्देशनहरुलाई आत्मसात् गर्दै नेपाल प्रहरी सङ्गठनका प्राथमिकताहरुलाई कार्यान्वयन गरी नतिजामुखी सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

प्रहरी महानिरीक्षक थापाले आजनै निर्माणाधीन पोखरास्थित गण्डकी प्रदेश प्रहरी तालीम केन्द्र, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडा र निर्माणाधीन अवस्थामा रहेको गण्डकी प्रदेश दंगा नियन्त्रण प्रहरी गण तनहुँको समेत निरीक्षण तथा अवलोकन गर्नु भई प्रहरी कर्मचारीहरुलाई व्यवसायिक प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन दिनुभएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।

Comments
Loading...