कृषिको विकासमा दक्ष कृषि प्राविधिकको खाँचो : मन्त्री थापामगर

हिमाली आवाज । गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय लेखबहादुर थापामगरले कृषि क्षेत्रको विकासको लागि दक्ष कृषि प्राविधिक कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

कृषि विकास निर्देशनालय मालेपाटन पोखरामा आज स्थानीय तहमा कार्यरत कृषि प्राविधिकका लागि साना सिँचाई तालिम समापनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

कृषि प्राविधिकका लागि तालिमको आवश्यकता रहेको भन्दै मन्त्री थापाले सिमित कार्यालय र सिमित कर्मचारीलाई मात्र नभई प्रदेश भित्रका ८५ वटै पालिका र जिल्लास्थित कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका कम्तिमा पनि एक÷एक जना प्राविधिकलाई तालिम दिनुपर्ने बताउनु भयो ।

प्रदेश सरकार र स्थानीय तहबीच सम्वन्ध घनिष्ठ भएता पनि व्यवहारमा कार्यन्वयन तहमा त्यस्तो हुन नसकेको भन्दै संघीयताको मर्म अनुसार एक अर्कासँग समन्वय र सहकार्य गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

मन्त्रालयका सचिव सवनम सिवाकोटीले दक्ष प्राविधिक कर्मचारीबाट उत्पादन वृद्धिमा कृषकलाई सघाउ पुग्ने बताउनुभयो ।

कृषि व्यवसाय प्रवर्द्रन सहयोग तथा तालिम केन्द्र मालेपाटन पोखराले आयोजना गरेको ३५ कार्यदिन तालिम १३ स्थानीय तहका चौथो र पाँचौ तहमा कार्यरत १५ कृषि प्रविधिकहरुलाई प्रदान गरिएको थियो ।

Comments
Loading...