पोखरामा शुरु भयो क्लबस्तरीय क्रिकेट प्रतियोगिता

हिमाली आवाज । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा आजदेखी क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगिता शुरु भएको छ ।पहिलो दिन मंगलबार भएको उदघाटन खेलमा माछापुच्छ«े क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबलाई १४ रनले पराजित गरेको छ ।

टस हारेर व्याटिंगमा उत्रिएको माछापुच्छ«े क्रिकेट क्लबले कप्तान दिपेश खत्रीको शतकीय पारीमा छ विकेटको क्षतिमा ५० ओभर पूरा खेल्दै २७१ रनको विशाल योगफल तयार पारेको थियो । २७२ रनको लक्ष्य पाएको पोखरा क्रिकेट क्लब भने २५७ रनमा समेटियो । साहिल कार्कीले शतकीय पारी खेल्दै जितको आशा जगाएपछि जित नजिक पुगेर झिनो रनअन्तरले पराजित हुन पुग्यो ।

नौ महिनापछि रङ्गशालामा उपस्थित भएर प्रतियोगिता खेल्न पाउँदा खेलाडीहरु उत्साहित छन् । कोरोना महामारीको केही समयपछिनै विश्वका अन्य देशमा खेलकूद नियमित रहेपनि नेपालमा लामो समय बन्द हुँदा आफूहरुले लामो समय मैदानमा आउन नपाउँदा निराश बनेको क्रिकेट खेलाडी दीपेश खत्री बताउनहुन्छ ।

उहाँले भन्नुभयो,“अन्तिमपटक मलेसियासँग खेलेपछि कुनैपनि प्रतियोगिता खेल्न पाएका थिएनौँ । कोरोनाले गर्दा सरकारले बनाएको नियम मानेर घरमा बसौँ, २० वर्ष क्रिकेटमा लागि जीवन दिएका हामी खेलाडी पुनः खेल्न पाउँदा उत्साहित भएका छौँ ।”

क्रिकेट, फुटबल लगायत खेलका खेलाडीको उमेर कम हुने भएकाले एक वर्ष क्षति हुँदा प्रदर्शन समेत प्रभावित हुने खत्रीको भनाई छ ।
आगामी आगामी पुस ११ देखी आयोजना गरिएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोेगिताका लागि जिल्ला क्रिकेट सङ्घले खेलाडी छनोेट गर्न पोखरा रङ्गशालामा पुरुषको क्लबस्तरीय प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा विभिन्न छ टोलीले सहभागिता जनाएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।

मङ्सिर २९ सम्म सञ्चालन हुने प्रतियोगितामा माछापुच्छ«े र पोखरा क्रिकेट क्लब सहित अरण्यज्योति क्रिकेट क्लब, साँग्रिला क्रिकेट क्लब, कास्की क्रिकेट क्लब र राईजिङ्ग पोखरा क्रिकेट क्लब सहित छ टोलीले सहभागिता छ । क्लबस्तरीय प्रतियोगिताबाट जिल्लाको टोली छनोट गरी प्रदेश छनोट प्रतियोगितामा पठाइने क्रिकेट सङ्घले जनाएको छ ।

महिलाको भने क्लब नभएकाले छनोट ‘क्याम्प’ मार्फत खेलाडी छनोट गरिने छ । आगामी पुुस १ देखी पोखरा रङ्गशालामा प्रदेशस्तरीय पुरुष तथा महिलाको छनोट प्रतियोगिताबाट महिला पुरुषको एक÷एक टोली प्रधानमन्त्री कपका लागि छनोेट गरिने सङ्घका सचिव दीपेन्द्र चन्दले जानकारी दिनुभयो ।

Comments
Loading...