‘वल्र्ड पावर लिफ्टिङ’मा नेपाललाई तीन स्वर्ण र एक रजत पदक

हिमाली आवाज । वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप पुरुष तथा महिला –२०२० प्रतियोगितामा नेपालले तीन स्वर्ण र एक रजत पदक जितेको छ ।

वल्र्ड पावर लिफ्टििङ फेडेरेशन तथा एमेच्योर पावर लिफ्टििङ फेडेरेशन इन्डियाको आयोजनामा भारतको अमराबतीमा यही डिसेम्बर ५ देखि ८ सम्म भएको २१ औँ संस्करणको प्रतियोगितामा सिनियरतर्फ नेपालका हसन गुरुङले ८२.५ केजीमा स्वर्ण पदक जित्न सफल हुनुभएको हो ।

यसैगरी जुनियरतर्फ आशिष आले मगरले ११० केजीमा र श्रुति कार्कीले ५६ केजीमा स्वर्ण पदक जित्न सफल हुनुभएको एशियन पावर लिफ्टिङ फेडेरेशनका उपाध्यक्ष एवं नेपाली टोलीका प्रशिक्षक जीवन गिरीले जानकारी दिनुभयो ।

सिनियर तर्फ १०० केजीमा नेपालका राजेश सुवालले रजत पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा नेपालबाट पाँच खेलाडी र दुई अफिसियल सहभागि हुनुभएको थियो । सहभागि पाँच खेलाडीमा चार जना पोखराका र एक महिला सुर्खेतको हुनुहुन्छ ।

प्रतियोगितामा सहभागि हुन जानु अघि नेपाल पावर लिफ्िटङ एशोसिएसनले पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर कोरोना कहरका कारण विगत लामो समयदेखी खेलकूद गतिविधि ठप्प भएको अवस्थामा नेपालले अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु महत्वपूर्ण रहेको जनाएको थियो ।

एशोसिएसनले आगामी दिनमा सातै प्रदेशबाट खेलाडी छनोट गरी पावर लिफ्टिङको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने जनाएको छ ।

Comments
Loading...